फडिन्द्र अधिकारी
लेखनाथ, पुस २१ गते । कास्कीको पोखरा महानगरपालिका वडा २५ मा रहेको तीव्रेकोट सामुदायिक वन लाटोकोसेरो संरक्षण विशेष क्षेत्र बनेको छ । एकसय दशमल ७४ हेक्टरमा रहेको वनलाई उपभोक्ताको भेलाले विशेष क्षेत्र बनाउने निर्णय गरेको हो ।
लाटोकोसेरो संरक्षणमा सक्रिय प्रकृतिका साथीहरुको आयोजनामा भएको लाटोकोसेरो संरक्षण विशेष शिविरमा भएको उपभोक्ताको भेलाले यस्तो निर्णय गरेको छ । तीव्रेकोट सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विशालजङ्ग कुँवरले भेलाले विशेष क्षेत्र बनाउने निर्णय लिएको जानकारी दिनुभयो ।
अब यो वनमा लाटोकोसेरो लगायतका कुनै पनि पंक्षीलाई मार्न हानी, नोक्सानी गर्न र गुलेलीले शिकार गर्न पाइने छैन । वन समूहको विधान र वन कार्ययोजनाअनुरुप लाटोकोसेरो संरक्षणका कार्यक्रम चलाइने समूहका उपाध्यक्ष कृष्णबहादुर कुँवरले सुनाउनुभयो ।
यो क्षेत्रमा लाटोकोसेरोबारे अध्ययन, चराले गुड, वासस्थान बनाएका रुखहरुको संरक्षण, लाटोकोसेरो संरक्षणका लागि आगामी वर्षदेखि बजेटसमेत विनोयजन गर्ने कुँवरले प्रतिवद्धता गर्नुभयो । प्रकृतिका साथीहरु संस्थको सहकार्य र अग्रसरतामा स्थानीय विशेष क्षेत्र बनाउन सहमत बनेका हुन् ।
पोखरा महानगर पालिका वडा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले लाटोकोसेरो संरक्षण गर्न स्थानीय सरकारको साथ रहने प्रतिवद्धता गर्नुभयो । वनका उपभोक्ताले नै वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गर्नु प्रशंसनीय कार्य भएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख कोमलराज काफ्लेको भनाइ छ ।
“यहाँ सरकारले गर्नुपर्ने काम समुदायले गरेको छ” प्रमुख काफ्लेले भन्नुभयो, “अन्य सामुदायिक वनमा पनि संरक्षणका अभियान चलेका छन् । तर लाटोकोसेरो संरक्षण विषेष क्षेत्र घोषणा भएको सम्भवतः यो पहिलो वन हो ।”
प्रकृतिका साथीहरुका कार्यकारी निर्देशक राजु आचार्यले वन उपभोक्ता समूहसँग सहकार्य गरी अघि बढ्ने वाचा गर्नुभयो । समुदायबाट नै यस्ता अभियान थालिनु उल्लेखनीय रहेको उहाँले बताउनुभयो ।
प्रकृतिका साथीहरुले गण्डकी प्रदेशमा लाटोकोसेरोको अवैध व्यापार, चोरीसिकार नियन्त्रणका लागि तालिम, जनचेतनामूलक कार्यक्रम गर्दैआएको छ । गत वर्ष लाटोकोसेरोका एकसय वटा कृत्रिम गुँड राखिसकेको आचार्यले जानकारी दिनुभयो ।