• २३ पुस २०८१, मङ्गलबार

कुराउनीले फेरियो पहिचान

blog

खुवा बनाइरहनुभएका हेटौँडा–६, चुच्चेखोलाका ७५ वर्षीय कृष्णप्रसाद तिमल्सिना ।

अनिल पराजुली

हेटौँडा, पुस २१ गते । बागमती प्रदेशको राजधानी हेटौँडाको बुद्ध चोकबाट आठ किलोमिटरको दुरीमा रहेको चुच्चेखोलाले छुट्टै पहिचान बनाएको छ । कान्ति राजपथ हुँदै हेटौँडा–काठमाडौँ आउजाउ गर्दा हेटौँडा बजारनजिकै रहेको हेटौँडा–६, चुच्चेखोला खुवा र खुवाको परिकारका लागि पर्यायवाची बनेको छ । हेटौँडा पुग्ने जोकोहीलाई पनि चुच्चेखोला पुगौँ पुगौँ लाग्ने एउटै कारण छ– खुवा (कुराउनी) ।

खुवाका पारखीलाई उपयुक्त गन्तव्य बनेको चुच्चेखोला खुवा उत्पादनको ‘हब’ बनेको हो । यहाँ आधा दर्जनभन्दा बढी खुवा उत्पादन गर्ने व्यावसायिक पसल छन् । सडक सञ्जालको विस्तारसँगै खुवाको परिकारले यहाँ भैँसी पालनको सुरुवातसँगै सामुदायिक वनको कुकाठ दाउराको रूपमा खपत हुँदै आएको छ । खुवाका कारण यो स्थानको परिचय बदलिनुका साथै स्थानीयवासी आयआर्जनसँग जोडिएका छन् । यहाँको रानी सामुदायिक र चुच्चेखोला वन उपभोक्ता समूहको जङ्गलमा उत्पादन भएका कुकाठ र दाउरा खुवा उत्पादनका लागि खपत भइदिँदा यहाँका सामुदायिक वन पनि आर्थिक उपार्जनमा जोडिएका छन् । 

३७० रुपियाँमा दुई वटा कराही किनेर चिया पसलसँगै खुवा व्यापार सुरु गर्नुभएका हेटौँडा–६, चुच्चेखोलाका कृष्णप्रसाद तिमल्सिनाले अहिले लाखौँको खुवा व्यापार गरिरहनुभएको छ । २२ वर्षको उमेरमा काभ्रेपलाञ्चोकबाट हेटौँडा आएर खुवा पसल सुरु गर्नुभएका तिमल्सिनाको परिवारै यो पेसामा होमिएको छ । उमेरले ७५ नाघ्नुभएका उहाँ अहिले पनि खुवा घोटेरै बसिरहनुभएको छ । खुवा बेचेरै मनग्य आम्दानी गर्दै आउनुभएका उहाँले परिवारको पालनपोषण, शिक्षादीक्षा मात्रै होइन, घरजग्गा नै जोड्नुभएको छ । चिया नास्तासँगै खुवा घोट्न थाल्नुभएका तिमल्सिना यहाँका पुराना खुवा व्यवसायी हुनुहुन्छ । 

सुरुवाती समयमा भैँसी पालन नगर्ने र डेरी पनि नभएको स्मरण गर्दै तिमल्सिना अहिले चुच्चेखोलामा आधा दर्जनभन्दा बढी खुवा पसल खुलेसँगै दुध सङ्कलनका लागि डेरी खुल्नुका साथै भैँसी पालन गर्ने किसानको पनि सङ्ख्या बढेको बताउनुहुन्छ । 

हेटौँडा–काठमाडौँ सडक सञ्जालको विस्तारसँगै खुवा व्यापारले पाएको तीव्रता र काठमाडौँ जाने यात्रुले पनि कोसेलीका रूपमा खुवा लैजान लागेपछि यहाँ खुवा व्यापार फस्टाएको हो । तिमल्सिनाले दैनिक तीन सय लिटर दुध खपत गर्ने गरेको र ३० देखि ४० किलोसम्म खुवा घोट्ने गरेको बताउनुभयो । 

१५ रुपियाँबाट सुरु गरेको खुवा अहिले उहाँले प्रतिकेजी ७०० रुपियाँमा बिक्री गर्दै आएको बताउनुभयो ।

त्यस्तै विगत २६ वर्षदेखि चुच्चेखोलामा कृष्ण कन्हैया खुवा भण्डारमार्फत खुवा बिक्री गरेर चम्किरहनुभएका श्यामकुमार मानन्धरले पनि मनग्य आम्दानी गरिरहनुभएको छ । १० हजार रुपियाँ लगानीबाट सुरु गर्नुभएका मानन्धरले भाडाको घरसहित अहिले आफ्नै लगानीमा घर निर्माण गरेर दुई वटा खुवा पसल सञ्चालन गरिरहनुभएको छ । खुवा पारखीहरूका लागि ‘श्याम दाइ’ पर्याय जस्तै बन्नुभएको छ । मानन्धरले दैनिक करिब दुई सय लिटर दुध घोटेर २५ किलोभन्दा बढी खुवा बनाएर बिक्री गर्दै आउनुभएको छ । 

उहाँको पसलमै बसेर खुवा खाने, घरमा लैजाने तथा कसैलाई उपहार लैजानका लागि खुवा खरिद गर्नेहरूको भीड नै लाग्ने गर्दछ । खुवाको अतिरिक्त दूधबाट बन्ने मिठाई, पेडा, बर्फीलगायत शाकाहारी खाजा पनि बिक्री गर्ने मानन्धरले मासिक लाखौँको आम्दानी गर्ने गरेको बताउनुभयो । व्यापारको क्रममा २०३६ सालमा भक्तपुरको ठिमीबाट बुबासँगै मकवानपुर झर्नुभएका मानन्धरले करिब ३० वर्षको उमेरदेखि आफैँले खुवा पसल सुरु गर्नुभएको हो । 

त्यस्तै कान्ति राजपथ पूर्ण रूपमा सञ्चालन भएपछि यहाँको लक्ष्मीनारायण खुवा बिक्री भण्डारले पनि दोब्बर व्यापार गरिरहेको छ । परिवारले गरिरहेको व्यवसायलाई सघाउनैका लागि रोजगारीका क्रममा युरोप पुग्नुभएका मदनकुमार तिमल्सिना पनि खुवा व्यवसाय फस्टाएपछि स्वदेश फर्कनुभएको छ । सबै खर्च कटाएर मासिक एक लाख रुपियाँ बच्ने भएपछि उहाँले युरोपको बसाइलाई बिट मार्दै परिवारसँगै रहेर आफ्नै काम गर्ने उद्देश्यका साथ अहिले खुवा व्यापारमा सघाइरहनुभएको छ ।