• २३ पुस २०८१, मङ्गलबार

अब स्वतन्त्र जीवन बाँच्न चाहन्छु : खनाल

blog

काठमाडौं, पुस २१ गते । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले अहिले आफू राजनीतिक दलबाट स्वतन्त्र हुन चाहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनसँग कुरा गर्नुहुँदै उहाँले आफू पहिलेदेखि नै निष्क्रिय रहेको र अब स्वतन्त्र जीवन यापनका लागि राजनीतिबाट टाढा हुन खोजेको उहाँको भनाइ छ । 

खनालले भन्नुभयो, “मेरो निष्क्रियता त पहिलेदेखि नै हो, अब आबद्धता छैन भन्ने स्पष्ट पार्न फेसबुक स्ट्याटस राखें । त्यस्तो कसैको खोजी पनि छैन । मैले आफैंले स्वतन्त्र हुन चाहें । त्यति हो ।”

उहाँले आफू देश र जनताका लागि केही गर्न खोजेको भन्नुहुँदै पार्टीमा गालीगलौज जस्ता कुरा अशाेभनीय रहने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टी गालीगलौजमा लाग्ने कुरा अशाेभनीय हुन्छ । देश, जनता र राष्ट्रको लागि काम गर्न खोजेको हो । अहिले स्वतन्त्र रुपमा रहन चाहन्छु ।”

खास असन्तुष्टि के हो भन्ने जिज्ञासामा उहाँले त्यस्तो केही पनि असन्तुष्टि नरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “त्यस्तो असन्तुष्टि मेरो केही छैन । तर नेपालको राजनीति सही दिशामा अघि बढेकोजस्तो देखिएको छैन । राजनीतिलाई सही संस्कारको रुपमा अघि बढाउन भने आवश्यक छ ।”