साबित्री गिरी
कोहलपुर, पुस २१ गते । बाँकेको राप्तीसोनारी गाउँपालिका ९ ढकेरीका किसान गोकुलबहादुर वली विदेशबाट फर्केर आफ्नै ठाउँमा भैंसीपालन गरी राम्रो आम्दानी गरिरहनुभएको छ ।
कोरोनाकालमा उहाँ विदेशमा हुनुहुन्थ्यो । त्यहाँ उहाँको जीवन सहज थिएन । अहिले उहाँको जीवन पहिलेभन्दा फरक छ । विदेशमा रहँदा पाएको दुःख भैंसीको दुध बेचेर आउने पैसाले मेटाइदिएको उहाँको बुझाइ छ । विदेशी कम्पनीमा काम गर्दा पाएको दुःख स्वदेशमा गर्दा पैसा र आराम दुबै मिलेको उहाँले बताउनुभयो ।
अहिले घरपरिवार र छोराछोरीसँगे वली रमाउनुभएको छ । वलिको सिको गर्दै गाउँमा अन्य युवाहरुले पनि कृषि कर्ममा समय बिताउन थालेका छन् । बाँझो बारी राखेर विदेश जाने युवाहरु खेतबारीमा रमाउन थाले पनि यसको सकारात्मक प्रभाव परेको बाँकेको राप्तीसोनारी गाउँपालिका ९ स्थित श्री जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष भागिरथी खड्काले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “किसानहरुलाई आवश्यक पर्ने सहयोग सहकारीमार्फत उपलब्ध गराएपछि किसानहरु खुसी भएका छन् । बाँकेको डुडुवा गाउँपालिका वडा ४ स्थित उचेमसाहाका किसान नयन खानसँग पनि विगतमा विदेशमा काम गर्दाको नमिठो अनुभव छ । अहिले उहाँको जीवन सहज बनेको छ ।
विदेशमा गर्ने दुःख भन्दा स्वदेशमै गर्ने दुःखमा उहाँ धेरै नै सन्तुष्ट हुनुहुन्छ । यसरी अगाडि बढेका किसानलाई सहकारीले पनि राम्रो सहयोग गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुले व्यावसायिक कृषिबाट सफल हुँदै गएको स्थानीयको बुझाइ छ ।
यस्तै, बैजनाथ गाउँपालिका वडा २ मकैबारीस्थित साना किसान सहकारी संस्था लिमिटेडका सञ्चालक मानवहादुर रोकायले ऋण सहुलियत लगायत आएका सेवाहरु प्रवाह गर्ने गरेको बताउनुभयो ।