• १२ असोज २०८१, शनिबार

पवित्रा र उषालाई ‘निशा घिमिरे स्मृति पुरस्कार’

blog

काठमाडौँ, भदौ २२ गते । अभिनेत्री, मोडल तथा कोरियोग्राफर पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई  ‘निशा घिमिरे स्मृति पुरस्कार–२०७९’ प्रदान गरिएको छ। उपचारको क्रममा गत वर्ष निधन भएकी मोडल  घिमिरेको स्मृति कोषले सोमबार एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो। 

त्यस्तै घिमिरेको उपचारमा ५० लाखभन्दा बढी खर्च गरेको नर्भिक इन्टरनेसनल अस्पतालकी निर्देशक मेघा चौधरी, निशाको उपचार सहयोग र कोषमा रकम सहयोगका लागि रकम जुटाउन सक्रिय पत्रकार प्रकाश सुवेदी र निशाको उद्धारमा संलग्न नवजीवन परोपकार समाजलाई सम्मान गरिएको छ। ‘निशा घिमिरे स्मृति कोष’का संयोजक दुर्गानाथ दाहाल, नेपाली प्रथम नायिका भुवन थापा चन्द, वरिष्ठ अभिनेत्री मिथिला शर्मा बोहरालगायतको उपस्थितिमा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। पुरस्कारको राशि जनही पच्चीस हजार रुपियाँ रहेको छ। कार्यक्रममा बोल्दै प्रथम नेपाली नायिका भुवन थापा चन्द र वरिष्ठ अभिनेत्री मिथिला शर्माले कार्यक्रमको प्रशंसा गर्नुभयो।