गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ११ गते । अभिनेता हरिवंश आचार्यको मुख्य भूमिका रहेको चलचित्र ‘भूठान’ ले विभिन्न क्षेत्रका व्यक्तिबाट सकारात्मक प्रतिक्रिया पाएको छ । मङ्गलबार साँझ भएको प्रिमियरपछि नेता, समाजसेवी, कलाकार, पत्रकारलगायतले ‘भूठान’ ले नेपाली चलचित्रलाई अझ माथि उकास्ने विश्वास व्यक्त गरे ।
चलचित्र हेरिसकेपछि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देशको माटो र त्यसको पहिचान गुमाउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा चलचित्रले दर्साउन खोजेको बताउनुभयो । उहाँले चलचित्रभित्र देखिएका विष्णुबहादुर पात्रलाई निर्देशक विनोद पौडेलले सुन्दर ढङ्गले प्रस्तुत गरेको बताउनुभयो । कथाको विषयवस्तु अनुसार अभिनेता आचार्यलगायतले उत्कृष्ट अभिनय गरेको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माका अनुसार चलचित्रले धेरैको कथा बोलेको छ । देश गुमाउनु परेकाहरूको पीडा भुटानी नागरिकले जसरी बेहोर्नुभएको छ, त्यस्तै विश्वमा अन्यले पनि बेहोर्नु परेको कथा चलचित्रमा देखिएको उहाँले बताउनुभयो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले चलचित्र फरक रूपमा बनेको बताउँदै चलचित्रमा हरिवंशको हाँसो होइन गम्भीरता देखिएको बताउनुभयो ।
निर्देशक मीनबहादुर भाम चलचित्रको कथावस्तु मर्मस्पर्शीसँगै प्राविधिक पक्ष पनि राम्रो भएको बताउनुभयो । गायिका आनी छोइङ डोल्माले चलचित्रले मानवीय पक्षका धेरै कुरा प्रस्तुत गरेको बताउनुभयो । अभिनेतृ मनीषा कोइरालाले प्राविधिक रूपमा चलचित्र राम्रो बनेको बताउँदै चलचित्रको बलियो पक्ष यसको कथा हो भन्नुभयो । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले चलचित्र अन्यभन्दा धेरै फरक लागेको धारणा व्यक्त गर्नुभयो ।
विनोद पौडेल निर्देशित ‘भूठान’ अङ्ग्रेजीमा ‘दी वल्र्डस् ह्याप्पिएस्ट म्यान’ मा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदीको अभिनय रहेको छ । चलचित्रमा हलिउडका अभिनेता बु्रस डर्नलाई विशेष भूमिकामा देख्न सकिन्छ । भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीको देशप्रेम र आफ्नो थातथलो छोड्नु पर्दा घर हराएको कथा चलचित्रले उठान गरेको छ ।
चलचित्रका निर्मातामा अविरल थापा, सुशाङ्क मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा रहनुभएको छ भने चलचित्रलाई सुसन प्रजापतिले खिच्नुभएको छ । चलचित्र वैशाख १२ गते देशभर प्रदर्शन हुँदै छ ।