गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ११ गते । वैशाख १९ गते प्रदर्शन हुने नेपाली चलचित्र ‘झिल्को’ को बुधबार ट्रेलर सार्वजनिक भएको छ । अहिलेको डिजिटल युगमा प्रविधिको अनियन्त्रित प्रयोगले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने गम्भीर असरबारे संवेदनशील कथा चलचित्रमा रहेको ट्रेलरले प्रस्ट्याएको छ ।
ट्रेलरको सुरुवात विद्यालयमा पढिरहेकी एक बालिकाले मोबाइल फोन लिएर जाँदा शिक्षकको आक्रोश झेल्नु परेको दृश्यबाट हुन्छ । त्यसपछि डिजिटल उपकरणप्रतिको लतले बालबालिकाको स्वास्थ्यमा पार्ने प्रत्यक्ष असर, अस्पताल भर्ना हुने अवस्था र निको नहुने रोग जस्ता गम्भीर परिणामलाई उजागर गरिएको छ । चलचित्रमा आयुषी ढकाल, सुनील पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनिश श्रेष्ठ र जेभिश श्रेष्ठको अभिनय देख्न सकिन्छ । यादवकुमार भट्टराई निर्देशित चलचित्रलाई मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रको छायाङ्कन दीपक वज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गर्नुभएको हो ।