• ११ वैशाख २०८२, बिहिबार

बर्खा लाग्दै छ, सचेत बनौँ

blog

बर्खा लाग्न अब मात्र दुई महिना बाँकी छ । ज्योतिष विज्ञानलाई आधार बनाएर पञ्चाङ्ग समितिले प्रकाशन गरेको पात्रो अनुसार २०८२ साल कृषि उत्पादनका लागि अत्यन्तै उपयुक्त वर्ष भनिएबाट बर्खामा पानी निरन्तर पर्ने सङ्केत देखिएको छ । वर्षा मध्यम खालको पनि हुन सक्छ वा भारी पनि हुन सक्छ । त्यस्तै मौसमविद्का अनुसार पनि यो वर्ष विगतको तुलनामा धेरै वर्षा हुन सक्ने देखिन्छ । यिनै कुरालाई आधार मान्ने हो भने बर्खामा बाढी, पहिरो, डुबानको सम्भावनालाई नकार्न सकिँदैन । त्यसर्थ बर्खाअगावै सचेत र सजग हुनुपर्ने जरुरी छ । यसका लागि गत वर्षको बाढी, पहिरोले क्षत विक्षत बनाएका सडकका साथै विस्तार, मर्मत र स्तरोन्नति भइरहेका सडक, राजमार्गहरू बर्खा नलाग्दै तयार गर्नु पर्छ । बर्खा अगाडि तयार हुन सक्ने सम्भावना नभएका सडकहरूका सन्दर्भमा समयमै सरकारले त्यसको विकल्पका रूपमा वैकल्पिक मार्गको खोजी गर्नु पर्छ । 

त्यसै गरी बाढी, पहिरो र डुबानको उच्च जोखिममा रहेका नागरिकहरूलाई बर्खा लाग्नु अगाडि नै कम्तीमा दुई/तीन महिना बर्खा अवधिभरका लागि अस्थायी आवासको निर्माण गरेरै भए पनि सुरक्षित स्थानमा लगेर राख्ने व्यवस्था मिलाउनु पर्छ । बर्खामा उच्च सतर्कताका लागि मौसम पूर्वानुमान महाशाखाले विभिन्न संचारका माध्यमद्वारा व्यापक रूपमा अग्रिम सत्य तथ्य सूचना सम्प्रेषण गरेर सचेत र सजग गराउनु पर्छ । ती सूचनालाई आधिकारिक मानेर नागरिकले पनि आफ्नो तर्फबाट सचेत हुनु जरुरी छ । यसै गरी राज्यका सम्बन्धित निकायले सोही मौसम पूर्वानुमान महाशाखाको सूचनालाई आधिकारिक मानी भरपर्दो ढङ्गबाट व्यवस्थापनको चाँजोपाँजो मिलाउनु पर्छ । 

जोखिमपूर्ण सडकमा यथासम्भव धेरै डोजर तयारी हालतमा राख्नु पर्छ । मौजुदा सडक बत्तीहरूलाई बल्ने अवस्थामा राख्नु पर्छ भने जहाँ सडक बत्तीहरू राखिएको छैन ती स्थानमा बर्खाअगाडि नै सडक बत्तीको व्यवस्था गरिनु पर्छ, जसले गर्दा सडक दुर्घटना हुनबाट जोगिन्छ । सम्भव भएसम्म टाइम कार्डको व्यवस्था गर्नु पर्छ । लामो दूरीमा चल्ने सवारी साधनको सन्दर्भमा जानुपर्ने वा चल्नुपर्ने सडक अन्तर्गतको कुनै भू–भागमा भारी वर्षा भइरहेछ भने ट्राफिक प्रहरीले सोको जानकारी चालकहरूलाई गराएर उक्त स्थानमा वर्षा नरोकिएसम्म सुरक्षित स्थानमा सवारीसाधनलाई रोकिदिनु पर्छ । बाढी, पहिरोको जोखिम हुने स्थानहरूमा राज्यले साइरनको व्यवस्था गरिदिनु पर्छ । त्यसै गरी नागरिकले पनि सचेत हुँदै बर्खाको समयमा सकेसम्म लामो दूरीको यात्राको योजना नबनाउनु राम्रो हुन्छ । अत्यन्तै जरुरी परेर यात्रा गर्नैपर्ने भयो भने हवाई यात्रा गर्नु पर्छ । जोखिम व्यवस्थापनको जिम्मेवारी बोकेका सरकारी निकायले चुस्त, दुरुस्त, छिटो, छरितो ढङ्गले काम गर्नु पर्छ र बाढी, पहिरोबाट आपत्विपत्मा परेका मानिसलाई शिघ्र उद्धार गर्नु पर्छ । यसका लागि आवश्यक पर्ने स्रोतसाधन तयारी हालतमा राख्नु पर्छ । आवश्यकता अनुसार हेलिकोप्टर, लाइफ ज्याकेट, पौडी खेल्न जान्ने मानिस ठिक पारेर राख्नु पर्छ । 

हाम्रो देशको भौगोलिक विविधताका रूपमा रहेको तराई, पहाड र हिमाल एक हिसाबले वरदान साबित भएको छ भने यसको सही ढङ्गले सदुपयोग गर्न नजान्दा, यसको वास्तविक महत्व नबुझी केवल आफ्नो स्वार्थका लागि यसको मौलिक संरचनालाई नै क्षत विक्षत पारेका कारण अभिशापको रूपमा परिणत भएको छ । हामीले विविध प्रयोगका निम्ति जङ्गल मास्यौँ । वन फडानी गर्‍यौँ । रुख काटिसकेपछि त्यस ठाउँमा नयाँ बिरुवा रोप्न जानेनौँ । जसले गर्दा एकातिर बाढी, पहिरोको जोखिम बढ्न पुग्यो भने अर्कोतर्फ जङ्गल मासिँदा पानी पर्न छाड्यो र लामो समयसम्म खडेरी पर्न थाल्यो । त्यति मात्र होइन रुख बिरुवाले हामीलाई अक्सिजन प्रदान गरेर हाम्रो जीवनलाई बचाइरहेको छ भन्ने कुरा पनि हामीले चटक्कै बिर्सियौँ । 

हामीले जहाँ प्राकृतिक प्रकोपका हिसाबले जोखिम छ, त्यही स्थानमा बसोबास गर्न थाल्यौँ । खास गरी नदीका किनारमा अव्यवस्थित रूपमा बसोबास गर्न थालियो जहाँ अत्यन्तै धेरै जोखिमको सम्भावना रहेको हुन्छ । यसका लागि न नागरिक सचेत बन्न सके न त राज्य नै । गत वर्ष र विगतका बाढी पहिरोबाट भएको जनधनको क्षतिलाई हेर्ने हो भने सबैभन्दा बढी क्षति नदी किनारमा अव्यवस्थित र नदी छेउछाउका बस्तीहरूमा भएको पाइन्छ । चाहे गत वर्षको काभ्रेमा रोसी खोलाले पुर्‍याएको क्षति होस् वा दोलालघाटमा भएको क्षति होस् वा मेलम्ची खोलाले पुर्‍याएको क्षति होस् । यसबाट के पुष्टि हुन्छ भने नदी वा खोला कतिबेला भयङ्कर उर्लिन्छ र क्षति पुर्‍याउँछ भन्ने निश्चय हुँदैन । तसर्थ नदी किनारका अव्यवस्थित बसोबासी हुन वा स्थायी रूपमा पुर्खौंदेखि बसोबास गर्दै आएका हुन उनीहरूले बर्खाअगावै सचेत भएर वैकल्पिक उपायको खोजी गर्नुपर्ने देखिन्छ । राज्यको आँखा सबै ठाउँमा नपुगेको हुन सक्छ । राज्यलाई सूचना दिएर जानकारी दिने काम गर्नु पर्छ । जानकारीपश्चात् राज्यले गम्भीर भएर वैकल्पिक उपायको खोजी गरिदिनु पर्छ । 

अर्को कुरा पहाड र तराईका तटबन्धन गर्नुपर्ने ठाउँहरूमा तटबन्ध नगरेका कारण बर्खामा नदीले जमिन कटान गरी नदीभन्दा पर परका बस्तीहरू डुबानमा पारेर पनि जनधनको क्षति पुर्‍याइरहेको पाइन्छ । त्यस्ता ठाउँहरूमा राज्यका सम्बन्धित निकायले वर्षाअगाडि नै तटबन्धन गरिदिने काम गर्नु पर्छ । यसै गरी तराइको भारतीय सिमासँग जोडिएका कतिपय नेपालका भू–भागमा भारतले एकतर्फी ढङ्गले अन्तर्राष्ट्रिय कानुनलाई बेवास्ता गरी ५०० मिटर भित्रै नेपाललाई डुबानमा पार्ने गरी बाँध बाँधिदिएका कारण बर्खामा बर्सेनि नेपालका थुप्रै भूभाग डुबानमा परेर ठुलो धनजनको क्षति भइरहेको छ । राज्य यो मामिलामा गम्भीर हुनु जरुरी छ । सबैभन्दा महत्वपूर्ण कुरा राज्यले यी सबै कुरालाई उचित ढङ्गले व्यवस्थापन गर्न मौजुदा नियम कानुन र नीतिलाई कडाइका साथ अक्षरशः पालना गर्न लगाउनु पर्छ । जसले धेरै हदसम्म प्राकृतिक प्रकोपको जोखिमबाट हुने जनधनको क्षति रोक्न सकिन्छ । त्यसै गरी नागरिकहरूले पनि आफ्नो जिम्मेवारीलाई पालना गरी एउटा सचेत नागरिकको भूमिका निर्वाह गर्नु पर्छ । राज्यका नीति, नियम, कानुनलाई इमानदारिताका साथ पालना गर्नु पर्छ । नागरिकको आफ्नो दायित्व पूरा गर्नु पर्छ । आफ्नो जिम्मेवारी, दायित्व पूरा नगर्ने अनि राज्यलाई मात्र दोष लगाउनुको कुनै अर्थ रहँदैन । राज्य र नागरिक दुवैको सहकार्यबाट नै समस्याको समाधान हुने गर्छ । एक हातले ताली बज्दैन । ताली बजाउनका लागि दुवै हातको सहयोग चाहिन्छ । यसर्थ यी कुराहरूलाई राज्य र नागरिक दुवैतर्फबाट आत्मसात् गरौँ र व्यवहारमा उतार्ने काम गरौँ । आगामी दिनमा हामी जोखिमबाट हुने पीडाबाट मुक्त हुने छौँ ।