काठमाडौँ, कातिक १४ गते । भिजिट भिसाका नाममा हुने गरेका गलत क्रियाकलाप नियन्त्रण गरी अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवद्र्धन गर्न हाल कार्यान्वयनमा रहेको ६ बुँदे मापदण्ड र विभिन्न समयमा जारी प्रावधान खारेज गरिएको छ ।
अध्यागमन विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भिजिट भिसामा प्रस्थान गर्ने व्यक्तिले राहदानी, प्रवेशाज्ञा, हवाई टिकट र घोषणाको कागजात पेस गरेमा प्रस्थान अनुमति दिने सहज प्रावधानसम्बन्धी मन्त्रिस्तरीय निर्णय भएको जानकारी दिइयो ।
सो अवसरमा वितरित विज्ञप्तिमा भनिएको छ, “भिजिट भिसामा रहने यात्रुले कम्तीमा ६ महिना वैध अवधि भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा वा ‘अनअराइभल’ प्रवेशाज्ञा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने, प्रस्थान गर्ने गन्तव्यसम्मको हवाई टिकट र आफू भ्रमण गर्ने प्रयोजनको आवश्यक कागजात साथमा रहेको तथा सिर्जित परिणाममा स्वयम् जिम्मेवार रहने स्वः घोषणा गरे पुग्ने छ ।”
हाल कार्यान्वयनमा रहेको ६ बुँदै मापदण्ड पुनरावलोकन गर्न समेत सिफारिस गरिएको छ । अध्यागमन र उक्त भिसाबारे देखिएका समस्या समाधान गर्ने सम्बन्धी उच्चस्तरीय अध्ययन एवम् छानबिन समिति, २०८२ ले समेत संविधान प्रदत्त नागरिकका मौलिक हक, व्यक्तिको मानवअधिकार र स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने अधिकारको प्रत्याभूति गर्न तथा स्वार्थ समूहका चलखेललाई निरुत्साहित गर्नुपर्ने सुझाव प्रस्तुत गरेको थियो ।
विभागद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ “यो व्यवस्था आजैका मितिदेखि कार्यान्वयन हुने भएकाले सबै नेपाली नागरिकलाई कुनै पनि बिचौलियाको प्रभावमा नपरी आफ्नो गन्तव्य र यात्राको बारेमा पूर्णरुपमा सुसूचित भई निर्धक्क भई यात्रा गर्न अनुरोध छ ।” विभागले सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयबाटसमेत यस सूचनालाई सबै नागरिकसम्म सम्प्रेषण तथा सुसूचित गराउने कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ ।
विभिन्न उद्देश्यका लागि विदेश जान चाहने नेपाली नागरिकको प्रस्थान र आगमनलाई व्यवस्थित गर्ने सम्बन्धमा अध्यागमन ऐन, २०४९, अध्यागमन नियमावली, २०५१ तथा अध्यागमन कार्यविधि, २०६५ विद्यमान रहेका छन् । भिजिट भिसामा प्रस्थान गर्ने नेपाली नागरिकको प्रस्थानलाई सहजीकरण गर्ने प्रयोजनका लागि विभिन्न समयमा कार्यविधि परिमार्जन तथा मापदण्ड र परिपत्रहरू जारी गरी व्यवस्थित गर्ने प्रयास हुँदै आएको विभागले जनाएको छ ।
भजिट भिसामा जान नागरिकलाई हैरानी र अनियमितताका कारक बनेका गुनासा कायमै रहेको यथार्थतालाई आत्मासात् गरी अध्यागमन प्रशासनले सोही विन्दुबाट नै सुधारका काम निरन्तर अगाडि बढाइरहेको विषय विभागले स्पष्ट गरेको छ । अध्यागमन नियमन र सहजीकरणबीच उपयुक्त सन्तुलन कायम गरी राष्ट्रिय सुरक्षाका चुनौतीलाई सम्बोधन गर्न सक्ने गरी अध्यागमन प्रशासनलाई सुदृढ बनाउने र अध्यागमन प्रशासनमा पूर्णरुपमा सुशासन कायम गर्ने कार्यलाई विभागले आफ्नो मुख्य कार्यभारको रुपमा अगाडि बढाएको विज्ञप्तिमा उल्लेख छ । रासस
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                