गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १० गते । नेपाली लघुचलचित्र ‘पाउलो’ (दी सुज) चीनको स्मलरिग अवार्डको छनोटमा परेको छ । विश्वभरबाट आएका तीन हजार ७९१ चलचित्रमध्ये ९८ चलचित्रबाट २० वटा चलचित्र छनोटमा परेका थिए । चीनको सेन्जेन सहरमा आगामी मे २३ देखि २५ सम्म आयोजना हुने अवार्डमा ‘पाउलो’ प्रदर्शन हुने भएको चलचित्रका निर्देशक मोहन अभिलाषीले जानकारी दिनुभयो ।
लघुचलचित्रमा रेनुका कार्कीको कास्टिङ निर्देशन, करन साउदको सहायक निर्देशन, नारायण जिसीको छायाङ्कन र अनिलकुमार महर्जनको सम्पादन रहेको छ । लघुचलचित्र पशुपति परिसरमा बस्ने परिवारविहीन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई बनाइएको छ । ऐना आटर्सको प्रस्तुतिमा निर्माण भएको पाउलोको लेखन निर्देशक अभिलाषीले गर्नुभएको छ । लघुचलचित्रमा प्रशान्त हुमागाईं, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दङ्गाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा, सन्देश थापा, नारायणराज चौलागाईंको अभिनय रहेको छ ।