• ११ वैशाख २०८२, बिहिबार

पानीको ट्याङ्कीभित्र बाँदरको अस्थिपञ्चर

blog

अलपत्र परेको खानेपानी ट्याङ्कीभित्र भेटिएको बाँदरको कङ्काल । तस्बिर सौजन्यः दत्तराम भट्ट

गोकर्ण दयाल

बैतडी, वैशाख ११ गते । गाउँपालिका र प्रदेश सरकारले ‘एक घर एक धारा’ को नारा लगाएर निर्माण गरेको १२ लाख रुपियाँको खानेपानी योजनाको न पाइपलाइन छ न त धारा नै । ३५ हजार घनमिटरको ट्याङ्कीभित्र पानी खोज्न जाँदा स्थानीयले बाँदरको जस्तो देखिने अस्थिपञ्चर फेला पारेका छन् । स्थानीयवासी आफ्नै भाग्यलाई दोष दिएर एक किलोमिटर टाढाको खोलाबाट पानीको जोहो गर्दै आएका छन् । 

सुर्नया गाउँपालिका–३, तडीगाउँमा आव २०७७/०७८ मा गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकारको समपूरक बजेटमार्फत १२ लाख रुपियाँमा सो खानेपानी योजना सुरु भएको थियो । योजनाको नाम खालीगैर–तपोवन लिफ्ट खानेपानी राखिएको थियो । गाउँपालिकाले टेन्डरमार्फत अनिरुद्र निर्माण सेवालाई सात लाख रुपियाँमा भुक्तानी दिने सर्तमा योजनाको जिम्मेवारी दिएको थियो ।

क्रमागत भनिएको योजनाको अहिलेसम्म पाइपलाइन, लिफ्ट सामग्री र धारा निर्माण हुन नसक्दा ३५ हजार घनमिटरको ट्याङ्की अलत्र परेको स्थानीय राजेन्द्र भट्टले बताउनुभयो । उहाँले, गाउँमा खानेपानीको हाहाकार भएका बेला ट्याङ्कीमा पानी नभएर बाँदरको जस्तो अस्थिपञ्चर भेटिएको बताउनुभयो ।

तडीगाउँको कोयल्ला टोलका ४० भन्दा बढी घरपरिवार आधा घण्टा ओरालो खालीगैर झरेर जर्किनमा पानी बोक्नु पर्दा साह्रै मर्का परेको स्थानीय जानकी भट्टले गुनासो गर्नुभयो । दैनिक पाँच सात खेप उकाली ओराली गरेर जर्किनमा पानी बोक्नु पर्दा ग्रामीण महिलाको दिनचर्या कष्टकर बनेको उहाँले बताउनुभयो ।  

गाउँ काकाकूल हुँदा पनि चार वर्षदेखि खानेपानी योजना अलपत्र परेको स्थानीयवासी दत्तराम भट्टले बताउनुभयो । उहाँले खानेपानीको ट्याङ्कीभित्र पानी हेर्न जाँदा ढेडुवा बाँदरको जस्तो कङ्काल देखिएको उहाँले बताउनुभयो ।

प्रदेश सरकारसँगको साझेदारीमा समपूरक बजेटमार्फत खानेपानी योजना अघि बढे पनि पर्याप्त बजेट नआएका कारण योजना अलपत्र परेको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताउनुभयो । उहाँले यो वर्ष प्रदेश सरकारसँग माग गरिने समपूरक योजनाको सूचीमा खानेपानी योजना समेटिने बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो योजना अघिल्लो स्थानीय सरकारका पालाको हो । यद्यपि एक घर एक धारा पानी पुर्‍याउने गाउँपालिकाको लक्ष्य नै हो । बजेट नहुँदा योजना अलपत्र परेको जानकारी पाएका छौं । यो वर्ष गाउँपालिकाबाट निर्णय गरेर योजना पूरा गर्न प्रदेशसँग बजेट माग गर्दैछौं ।”