• ३० असोज २०८२, बिहिबार

सामाजिक सञ्जालले भन्दैमा नेतृत्व छाडिन्न : ओली

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, असोज ३० गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले आदेश दिए नेतृत्व छाड्न तयार रहेको बताउनुभएको छ । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बुधबारबाट सुरु भएको एमालेको दसौँ केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालले भन्दैमा भने नेतृत्व नछाड्ने बताउनुभयो । 

“पार्टीको केन्द्रीय कमिटीले भन्छ र आदेश दिन्छ भने म खुसीसाथ नेतृत्व छाड्न तयार छु । तर अप्ठ्यारो स्थितिमा देशलाई अलपत्र पार्दिनँ, सामाजिक सञ्जालमा कसैले भन्दैमा नेतृत्व छाड्ने होइन ।” अध्यक्ष ओलीले थप्नुभयो, “मैले पार्टीको अध्यक्ष छोड्नुपर्ने विषय फेसबुकले भन्ने होइन, यो कमिटीले भन्ने हो । कमिटीले भनेका बेला एकदम खुसीसाथ नेतृत्व छोड्न तयार छु । यो कमिटीमा बसेर कोही सदस्यले बाहिर गएर लोकप्रियवादका पछि कुद्न हुँदैन ।”

उहाँले जेनजी आन्दोलनबारे टिप्पणी गर्दै राष्ट्रिय झन्डा बोक्नेले सिंहदरबारमा आगो लगाउन नसक्ने उल्लेख गर्नुभयो । उहाँले नेपालको सफलता, संस्कार, संस्कृति र गौरव मन नपराउने तत्वले देश र देशको सम्पत्ति, सम्पदा मन नपराएको उहाँले बताउनुभयो । सार्वजनिक धरोहर, सार्वजनिक सम्पत्ति, व्यक्तिका घर र औद्योगिक प्रतिष्ठान जलाउने, प्रहरीका बर्दी र हतियार खोस्ने काम राष्ट्रिय झन्डा बोक्नेले नगर्ने उहाँले उल्लेख गर्नुभयो । 

भदौ २३ र २४ को घटना अनपेक्षित भएको उहाँको धारणा थियो । उहाँले लोकतन्त्र राज्यले ल्याइदिएको नभई जनताले ल्याएको बताउँदै जनताले नै लोकतन्त्र रक्षा गर्ने उल्लेख गर्नुभयो । उहाँले आफूहरू सिमलको भुवाजस्तो जता हावा लाग्यो उतै बग्नेखालको पार्टी नभएको स्पष्ट पार्नुभयो । एमाले देशभक्ति, राष्ट्रियता, विकास र सामाजिक न्यायका लागि निरन्तर लाग्ने पार्टी भएको अध्यक्ष ओलीले बताउनुभयो । 

उहाँले अहिलेको अवस्थामा राष्ट्रिय हितमा एकजुट हुन सबै दललाई आग्रह पनि गर्नुभयो । जेनजी आन्दोलनपछि राष्ट्रिय महाधिवेशन गर्ने दबाबमा रहेको नेकपा (एमाले) को ११ औँ महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने प्रस्ताव गरिएको छ । तीन दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति अन्तिम टुङ्गो लगाउने छ । 

१५ बुँदे प्रस्ताव

बैठकमा अध्यक्ष ओलीले १५ बुँदाको विशेष प्रस्ताव पेस गर्नुभएको छ । 

भदौ २३ गते जेनजी आन्दोलनलाई सुरुमै प्रस्ताव गरिएको छ । त्यसपछि संसद् भवनमाथि आक्रमण, गोली प्रहार र हत्यालाई प्रस्तावमा राखिएको छ । भदौ २४ को त्रासदीपूर्ण घटना, वर्तमान सरकारका सम्बन्धमा, प्रतिनिधि सभा विघटन, छानबिन आयोग सम्बन्धमा, दुष्प्रचार र नियोजित षड्यन्त्रका सम्बन्धमा प्रस्ताव पेस भएको छ । निर्वाचन सम्बन्धमा, जोखिमपूर्ण रहेको शान्ति सुरक्षाको स्थिति, भ्रष्टाचार नियन्त्रण र सुशासनमा प्रस्ताव गरिएको छ ।