काठमाडौँ, वैशाख ११ गते । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बिहीबार लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरुले आफ्ना प्रतिभा प्रस्तुत गर्दै विचार राखेका थिए ।
काठमाडौँ महानगरपािलकाकी उपप्रमुख सुनिता डङ्गोलले राम्रा कामका प्रचार गर्न एमालेले युवा शक्तिको सदुपयोग गर्ने बताउनुभयो । उहाँले स्टन्ट गरेर देश नबन्ने र देश बन्नका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । “स्टन्ट गरेर देश बन्दैन देश बनाउने हो भने काम गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
डा. आनन्द सिंहले फरक भूगोल, संस्कृति, भाषा, आचरण र संस्कार नेपालीलाई एकतामा बाँध्ने सुत्र भएका बताउनुभयो ।
उहाँले मुलुक एकतामा बाँधेर राख्दा विचार, बौद्धिकता र समावेशिताका क्षेत्रमा सकारात्मक अभ्यास हुने धारणा राख्नुभयो । “फरक भूगोल, संस्कृति, भाषा, आचरण र संस्कार भएका हामी नेपालीलाई एकताले एउटै डोरीमा बाँधेर राखेको छ”, उहाँले भन्नुभयो, “एकता सधैँ कायम भएमा देश बन्नुका साथै अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश जान्छ । एकता भावनामा मात्र होइन विचार, बौद्धिकता र समावेशितामा पनि हुनुपर्छ ।”
सोही कार्यक्रममा पृथ्वी नारायण क्याम्पस पोखराका स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सभापति विष्णु पोखरेलले समावेशिता र समानताको प्रत्याभूति लोकतन्त्रमा मात्र सम्भव हुने बताउनुभयो । उहाँले नेपाललाई मासु, तरकारी, फूललगायतका क्षेत्रमा आत्मनिर्भर बनाउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने र युवाले पनि नेपालको बाँझो जमिन जोत्न र खन्न आँट गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
त्यसैगरी शिवराज नगरपालिका कपिलवस्तुकी उपप्रमुख शिवकुमारी थारुले गणतन्त्र रक्षाका लागि सम्पूर्ण युवा एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो । “विकास देख्न नसक्ने राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले गणतन्त्रमाथि प्रहार गरिरहेका छन्”, उहाँले भन्नुभयो, “युवा शक्तिले त्यस्ता शक्तिलाई समाप्त पार्दै अघि बढ्नु पर्छ ।” रासस