गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १५ गते । पछिल्लो समय मुलुकमा वैदेशिक लगानीको प्रतिबद्धता क्रमशः घट्दै गएको छ । गत भदौमा भएको जेनजी आन्दोलन र एक महिनाअघिदेखि पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण नेपालमा लगानी प्रतिबद्धतामा कमी आएको हो । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ का आठ महिनामा (साउन–फागुन) ५५४ वटा परियोजनालक्षित ४० अर्ब ६६ करोड ९३ लाख ८० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
गत आव २०८१/८२ को आठ महिनामा ४२७ परियोजनाका लागि ४४ अर्ब ६६ करोड ३७ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको थियो ।
गत आवको तुलनामा चालु आवको आठ महिनामा चार अर्ब लगानी प्रतिबद्धता कमी आएको हो । विभागका सूचना अधिकारी सुरेश दाहालले जेनजी आन्दोलन र पश्चिम एसियाली मुलुकमा भएको युद्धको असरले लगानी प्रतिबद्धता कमी भएको हुन सक्ने जानकारी दिनुभयो । पाँच वर्षका लागि नयाँ स्थिर सरकार बनेकाले अब लगानी प्रतिबद्धता बढ्न सक्ने उहाँको भनाइ छ ।
गत फागुनमा २६ वटा परियोजनामा १८ करोड ७० लाख रुपियाँ भित्रिएको छ । गत माघ महिनासम्म ५२४ परियोजनामार्फत ४० अर्ब २८ करोड ३३ लाख ८० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको थियो । माघमा मात्र ३७ परियोजनामा ४४ करोड ९५ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको थियो ।
साउनमा २४ अर्ब १० करोड रुपियाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको थियो । साउनमा सिन्धुलीको मासु प्रशोधन उद्योगका लागि लगानी प्रतिबद्धता धेरै आए पनि अन्य महिनामा भने घट्दै गएको तथ्याङ्कले देखाएको छ । यस्तै भदौसम्म कुल ३३ अर्ब नौ करोड बराबर लगानी प्रतिबद्धता आएको थियो ।
भदौमा मात्र आठ अर्ब ९८ करोड बराबर लगानी प्रतिबद्धता आएको थियो । भदौ २३ र २४ भदौको जेनजी आन्दोलनपछिका महिनामा भने लगानी प्रतिबद्धतामा उच्च गिरावट आएको तथ्याङ्कले देखाएको छ ।
असोजसम्म ३५ अर्ब १३ करोड मात्र लगानी प्रतिबद्धता आएको थियो । यस्तै कात्तिकमा पुग्दा कुल ३६ अर्ब ६८ करोड लगानी प्रतिबद्धता आएको देखिएको छ ।
मङ्सिरसम्म ३८ अर्ब ५१ करोड रुपियाँ बराबर प्रतिबद्धता पुगेको थियो । पुससम्म ३९ अर्ब २३ करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
सरकारले स्वचालितमार्गबाट हुने लगानीको अधिकतम सीमा हटाएको छ । यसअघि स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म लगानी स्वीकृत गर्न पाउने व्यवस्था रहेको थियो । विभागका अनुसार चालु आवको फागुनसम्म सबैभन्दा धेरै कृषिमूलक १४ उद्योगमा २१ अर्ब ९० करोड ८० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । पर्यटनमूलक १५५ उद्योगमा ११ अर्ब २० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
यस्तै सेवा मुलुक ३८ उद्योगमा तीन अर्ब ६२ करोड ८० करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ । उत्पादनमूलक ३७ उद्योगमा दुई अर्ब ५२ करोड ५६ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । सूचना प्रविधिमूलक ३०७ उद्योगमा एक अर्ब ३० करोड ६४ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । ऊर्जामूलक एउटा उद्योगमा १८ करोड ४२ लाख रुपियाँ र खनिजका दुई उद्योगमा ११ करोड ५० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ । भारत, चीन, कतारलगायतका देशबाट नेपालमा धेरै लगानी प्रतिबद्धता आउने गरेको छ ।