काहुँडाँडाको ओरालो ! झरीपछिको दिन ! इन्द्रेणी आगमनको पूर्वसन्ध्या ! भन्ज्याङको चौतारी ! जहाँ भेटियो विशाल वटवृक्ष ! जहाँ बिसाएँ मैले मनको भारी । सुस्ताएँ केही क्षण बिसौनीमा । ओडेर पछ्यौरीको बर्को, भगाइदिएँ मैले वैशाखे बतासलाई । प्रिय चौतारी ! तिमीले बाँचिनौ सम्पूर्ण जीवन आफ्ना लागि, जसरी उज्यालिँदैनन् सूर्य र चन्द्रमा आफ्ना लागि । मुस्कुराउँदैनन् हिमाल आफ्ना लागि र फुल्दैनन् फूलहरू आफ्ना लागि । कसेर पलेँटी चौतारीमा, डुलाएँ नजर आँखाले भ्याउन्जेल । जन्मेको भूगोलदेखि बाँचिरहेको सांसारिक क्षितिजसम्म । लमतन्न गुन्द्रीमा पसारिरहेथ्यो पोखरा शहर, बिस्कुन सरी । सल्याङबल्याङ गरिरहेथे मानिसहरू, बोकेर रहस्य । जहाँ उघारेँ मैले सम्झनाका रिलहरू, एकपछि अर्को गर्दै । आउँदै, जाँदै, हराउँदै, पारि डाँडाको बादल सरी । मच्चिरहेथ्यो मन, दसैँको पिङ सरी ।
एक्हार्ट टोल भन्छन्, “हरेक पल वर्तमानमा बाँच ।” चियाएनन् उनले कहिल्यै विगत । ध्यानमा डुबेर घन्टौँ पार्कमा बिताइदिन्थे उनी तर म किन बाँच्न सकिनँ, मात्र आजका लागि । दुखिरहन्छ मुटु भविष्यको पिरलोले घरी घरी । स्मृतिमा किन पौडिरहन्छ मन, बेला कुबेला ? बर्सौंपहिले माघको कुनै दिन, प्रकृतिले हिउँदको सुगन्ध छर्दै गरेको समय । तोरीबारीले पहेँलपुर थियो, मालमुलको फाँट । काँधमा झोला भिरेर फरक लगाई फ¥याकफुरुक फुरुङ्ङ हुँदै त्यही बाटो नाप्दै थिएँ म । जहाँ फाँटको बिचैबाट मुस्कुराइरहेथे, जोडी बरपिपल । आडैमा थियो ठाँटी र घैलामा चिसोपानी । तोरीबारीले झिलमिलाएका नजरबिच ठम्याएँ, चौतारीको एक्लो बटुवा । प्रकृतिको मनमोहक फूलबारीमा रमेर कविता कोर्दै पो थियो कि ऊ, या बुन्दै थियो मनमनै मनगढन्ते कथा ? या लेख्दै थियो कुनै निबन्ध, निर्बन्ध प्राकृतिक छटाको । या कैद गर्दै थियो, नयनभरि त्यो अनन्त प्रकृतिको उत्ताल गहिराइ ? या थियो कसैको प्रतीक्षामा ? खप्तडबाबाले भने झैँ कि थियो, एक मन र अर्को मनबिचको जोडाइ अर्थात् टेलिप्याथी ? अनेक जिज्ञासाका छाल आउँदै जाँदै गरिरहे । धित मरुन्जेल पिएँ घैलाको पानी र लागे आफ्नो बाटो ।
अहो ! मेरो मनको क्यानभासमा गहिरो छाप छाडेको छ यद्यपि त्यो दृश्य दृश्यांशले । भनिन्छ, “मौनतामै लुकेको हुन्छ संसारको गहिरो शक्ति ।” आज पनि जब त्यही बाटो भएर हिँड्छु, जोडी बरपिपलले जिस्काएको अनुभूति नमिठो बनिरहन्छ । निमोठिदिएकी थिएँ मैले पहिलो प्रेमको बिज, जोडी बरपिपलकै फेदमा । प्रेम कहाँ, जीवन कहाँ ! चौतारी प्रेममा डुबुल्की मारिरहेछु म आज, मान्दैन मन सतहमा पटक्क उत्रन ।
फर्केर हेर्दा चिप्लेर पर पुगिसकेछ समय । कङ्क्रिटको जङ्गलले साँघुरिँदै छ फाँट, हिजोआज । मेरा पुर्खाले प्रतिष्ठा गरेको चौतारी आजपर्यन्त अनवरत सङ्घर्षरत छ, बाँच्ने मेलोमा । त्यसै चौतारीमा घाँसको भारी बिसाएर पसिना चुहाएका कैयन् पुर्खा माटोमा मिलिसके । अक्षय तृतियाका दिन सातु र खुदोपानी पु¥याउनुहुन्थ्यो, जिजुआमा । सोही वृक्षमा गुँड लगाई फैलाए कैयौँ पन्छीले सन्तान, दरसन्तान तर छैन हिजोआज घैलामा चिसोपानी । शून्य सरी छन् गोरेटाहरू । दौड्न थालेका छन्, बाइक र गाडीमा बटुवा । मासिँदै छन्, वरपरका सितलु बस्ने पाटी र चौतारी । चौतारीमा मुस्किलले भेटिन्छन्, वृद्ध । विदेशको माटो सिञ्चिँदै छन्, युवा । पाखा र बस्तीले फेरिरहेछन् आआफ्नो रूप । सुसाइरहेछ, तालखोलो आफ्नै लयमा अविराम ।
स्कुले जीवन चौतारीकै छत्रछायामा हाँस्दै खेल्दै बित्यो । छहारीकै मुन्तिर बसेर सिकेका थियौँ, हामीले जीवनका केही अमूल्य पाठ । उठाएका थियौँ, बाल्यकालको असीम आनन्द । राजा महेन्द्र काठमाडौँ जाँदा बाटोमा सितलु तापेको चौतारो, राजाका चौतारो । जहाँ बाघचाल खेल्दै, थकाइ मार्दै मिठा मिठा बात मारिन्थ्यो । गोठाला जाँदा सुसेली खेल्दै सुस्ताइन्थ्यो, बाटाका चौतारीमा । बेँसीको खेती गाउँमा भित्र्याउँदा उकालोमा पर्ने हरेक चौतारीमा म अरू गाउँलेले झैँ बिसाउँथे भारी र ओभाउथे पसिना । कतिपय चौतारीमा वनको भेला, पञ्चायत बस्थ्यो, महत्वपूर्ण कचहरी र छलफल हुन्थे । भारी बोकेर हिँडेको समय बाटो काट्न भरिया चेतले यो चौतारीदेखि त्यो चौतारीसम्म पुगेपछि यति बाटो नापिने, अनि घर पुगिने भनी चौतारीको नाम लिँदालिँदै छिनमै घर पुगेको अनुभूति यद्यपि ताजै छ तर मैले बालवयमा प्रेम गरेका कतिपय चौतारी भत्किए, भत्काइए, कैयन् संरक्षणको बाटो कुरिरहेछन् ।
मेरो जस्तै स्मृति जोडिएका कैयौँ पोखरेलीले अनमोल क्षण बिताएका चौतारी अब सम्झनामा मात्र सीमित छन् । लगभग मेटिइसकेको छ, पोखराको पाटनका सौन्दर्य र संस्कृति । मेरा पुस्ताका हरकोहीलाई थाहा छ विकासका नाउँमा अनौठा गतिविधि हरेक ठाउँमा छ्यापछ्याप्ती छिरिरहेछन हिजोआज । बर्सामासको बाढीले झैँ बढारेर लैजाँदो छ हाम्रो आफ्नोपन, संस्कृति र गाउँघरको रौनक । पोखरा सहरको विस्तारसँगै हाम्रै आँखाअगाडि कैयन् चौतारा लोप भए, कैयन् संरक्षणको अभावमा जीर्ण अवस्थामा छन् । किन उद्दत भइरहेछन् मानिस आखिर प्रकृतिको विनाशमा ? पाटन र चौतारीको सहर पोखराका खोइ ती फराकिला चउर, पोखरी अनि चौतारी ? खिल बनेर गडिरहेछन् विनाशमा उद्दत मानवरूपी दानवहरू । हाम्रा नेता, नीति र आमचेतना चौतारीको संरक्षणप्रति किन उदासीन रहे ? पिरोलिएको छ मन । छिया छिया बनेको छ मुटु ।
गएको असारमा माझगाउँस्थित खल्टकुरमा हाम्रा पुर्खाले रोपेको चौतारी बाटो चक्ल्याउँदा डोजरले लडाइदिएको खबरले आहत बनेको छ मन । ज्यान पोखरामा भए पनि मन गाउँमै छ, यतिबेला । पुगेको छ चोट हृदयमा । विकासको नाउँमा कस्तो विनाश आइपुग्यो, हाम्रो गाउँघरमा ? जसले मुठारिदिए चौतारीका हाँगाबिगाँ, उजाडिदिए हजाराँै चराचुरुङ्गीको छिनमै बास । हाम्रा अग्रजको नासो संरक्षण गर्नु हाम्रो कर्तव्य हो । हाम्रा पुर्खाले रोपेको चौतारी भत्काउन कसले दियो आदेश ? चौतारी मुठारेर नामोनिसान मेटाउन किन उद्दत बनिरहेछन् मानिस ? कसले लिने यो दोष, सरकार ? गाउँपालिका/नगरपालिका ? प्रकृति, संस्कृति र सम्पदा मासेर गरिएको विकास विनाश बराबर हो । प्रकृति र पर्यावरणप्रति किन असचेत बनिरहेछन् मानिसहरू ?
आज मानिसहरू व्यक्तिगत जीवन केन्द्रित हुँदै गएपछि र सडक सञ्जालको विकास भएपछि चौताराको मर्म हराउँदै गएको छ । पहिले पैदल हिँड्ने बाटोमा चौतारी निर्माण पुण्यको काम मानिन्थ्यो तर अहिले चौतारा निर्माण कार्य कमै भेटिन्छन् । महाभारतकालीन सभ्यता र महìव हेर्दा भगवान् कृष्णले कर्णलाई माता कुन्तीको बारेमा बताइरहँदा बरपिपलको रुख नजिकै भनिएको कथा महत्वपूर्ण छ । इतिहासको जानकारीबाट नै हो मानिसले वर्तमान र भविष्यको सही मार्ग पत्तो लगाउने । हिन्दु र बौद्ध धर्मशास्त्र अनुसार विष्णुको घर मानिएको बरपिपलले हजारौँ प्राणीलाई अक्सिजन पु¥याएको हुन्छ ।
गत वैशाखमा ठुलोबुवाले बडहरे गाउँबाट बेँसी झर्ने ओरालीमा (झौरीतर्फ) बरपिपल सारेर चौतारीको प्रतिष्ठाको कार्य गर्नुभएको थियो । हामी आफ्ना आफन्त त्यस पुण्यकार्यमा सहभागी भएका थियौँ । सत्कर्मको प्रसाद चौतारीकै फेदमा बसेर चाखिरहँदा वरपरका डाँडापाखाहरू हामीलाई नै हेरेर मुस्कुराई रहेथे । सिरानतिरबाट चियाइरहेथ्यो– रूपाकोट । रूपाताल चिसो बतास हामीतिरै पठाइरहेथ्यो । ठुलोबुवाले सनातन धर्म संस्कृतिको रक्षा गर्दै प्रकृति पूजकको भूमिका निभाएर ‘हाम्रा चौतारीहरू संस्कृतिका धरोहर हुन्’ भन्ने एउटा गतिलो पाठ नयाँ पुस्तालाई सिकाउनुभयो । हाम्रा पूर्वजले विरासतमा छोडेका धर्म संस्कृति, परम्परा, नैतिक शिक्षा, स्वास्थ्य हाम्रा जीवनशैलीसँग घनीभूत तवरले गाँसिने रहेछन् । प्राणीमा नक्कली प्राणी मान्छे, म चाहन्छु यो नक्कल गाउँघरका अरूले पनि गरिदिऊन् । गाउँ रित्तिदै गए पनि वृद्ध, युवा, बालक सबैले उकाली ओराली गर्दा एकैछिन चौतारीमा अडिई थकाइ मारुन्, सुखदुःखका बात गर्ने अवसर जुराउन् ।
कुनै बेला हरेक गाउँघरमा विश्रामस्थल मानिएका, सुखदुःखका बात मारेका सितलु ताप्ने चौतारीको महìव अवर्णनीय छ । जथाभाबी समाजको वास्तविकता नबुझी सात जुनीभन्दा बढी बाँच्ने यी बरपिपलका रुख मास्नेले कदापि क्षमा पाउने छैनन् । मानिस बौद्धिक र सिर्जनशील हिजो पनि थियो र यही सिर्जनशिलताका कारण ऊ संस्कृतिसहितको प्राणीको रूपमा अस्तित्ववान् छ । सयौँ वर्ष लागेर हुर्केर, शोभा बढाएका शीतल छहारी दिएका यी वटवृक्ष संरक्षणबारे आजै सोच्न र नयाँ बिरुवा हुर्काउन नसकिए आउने पुस्तालाई घात हुने छ । त्यसैले बाँचुञ्जेल प्रकृतिलाई बचाएर प्रकृतिको काखमा रमाई रमाइकन बाचौँ । पोखराका पहिचान बनेको चौतारी र पाटनहरू ! चौतारी संरक्षणमा जुटौँ, अग्रजको नासो जोगाऔँ !