नवराज नेपाली
बागलुङ (गलकोट), चैत १५ गते । राष्ट्रिय आर्थिक गणना–२०८२ सफल बनाउन सरोकारवालाहरूले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
जिल्ला आर्थिक गणना कार्यालय, बागलुङद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले सत्यतथ्य र विश्वसनीय रूपमा आर्थिक विवरण तथा तथ्यांक सङ्कलन गर्नुपर्नेमा जोड दिएका छन्। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले आर्थिक गणना राष्ट्रिय अभियान भएकाले सबैले सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले मुलुकको नीति तथा योजना निर्माणका लागि आर्थिक गणना महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले आर्थिक गणनाले तीनै तहका सरकारलाई नीति निर्माण र योजना तर्जुमा गर्न सहयोग पुग्ने धारणा राख्नुभयो। बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनकुमार शाक्यले सबै उद्योग, व्यवसाय तथा प्रतिष्ठानलाई सही विवरण उपलब्ध गराउन आग्रह गर्नुभयो। उहाँले आर्थिक गणनालाई प्रभावकारी र विश्वसनीय बनाउन सङ्घले आवश्यक सहयोग र समन्वय गर्ने बताउनुभयो।
नेपाल पत्रकार महासङ्घ, बागलुङका अध्यक्ष राम थापाले आर्थिक गणनाबारे समुदायलाई सुसूचित गर्न सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। उहाँले आर्थिक गणना सफल पार्न महासङ्घ सहकार्य गर्न तयार रहेको जानकारी दिनुभयो।
राष्ट्रिय स्वतन्त्र पार्टी, बागलुङ नगर समितिका अध्यक्ष रामप्रसाद अधिकारीले आर्थिक गणना सफल पार्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा कार्यालय प्रमुख चन्द्रकान्त सुवेदीले आर्थिक गणनाको तयारी, आवश्यकता र महत्वबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँका अनुसार औद्योगिक तथा व्यापारिक संरचनाको जानकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास लक्ष्य मापन, प्रतिस्पर्धी क्षेत्रको पहिचान, रोजगारी सिर्जना तथा राष्ट्रिय अर्थतन्त्रमा योगदानको मापनका लागि आर्थिक गणना महत्त्वपूर्ण हुन्छ।
आगामी वैशाख २ देखि असार ७ गतेसम्म राष्ट्रिय आर्थिक गणना सञ्चालन हुने छ। यस क्रममा विभिन्न वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने औपचारिक तथा अनौपचारिक सबै प्रकारका प्रतिष्ठान र व्यवसायहरूको गणना गरिने जनाइएको छ।
बागलुङमा पनि गणनाको तयारी भइरहेको जिल्ला आर्थिक गणना कार्यालयले जनाएको छ। गणनाका लागि गणक, सुपरिवेक्षकलगायत ३६ जना जनशक्ति परिचालन गरिनेछ।