• ११ पुस २०८१, बिहिबार

तस्विरमा ११ औं फाल्गुनन्द गोल्डकप प्रतियोगिता

blog

नारायण तुम्बापो 

फिदिम, पुस १० गते । फाल्गुनन्द गोल्ड कप पूर्वी पहाडको एक प्रतिष्ठित फुटबल प्रतियोगिता हो । यो खेलले क्षेत्रीय खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । प्रतियोगिता २०६५ सालदेखि पाँचथर जिल्लाको फिदिममा सञ्चालन हुँदै आएको छ । 

फिदिम स्पोर्टिङ क्लवको आयोजनामा भएको प्रतियोगिताको नाम नेपालका १६ औं राष्ट्रिय विभूति तथा किरात धर्मका प्रवर्तक महागुरु फाल्गुनन्द लिङ्देनको सम्मानमा राखिएको हो । महागुरु फाल्गुनन्द विशेषगरी सामाजिक सुधारका महान प्रेरक मानिनुहुन्छ । उहाँको नामसँग सम्बन्धित यो प्रतियोगिताले सामाजिक सद्भाव, स्थानीय पहिचान, संस्कृति, र खेलकुदको प्रवर्धनमा योगदान दिएको छ । 


महागुरु फाल्गुनन्दको योगदानलाई सम्मान गर्दै आयोजना गरिएको यस प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र टिमलाई आकर्षित गर्ने माध्यम बनेको छ । प्रतियोगिताले पाँचथर मात्र होइन, छिमेकी जिल्ला झापा, इलाम, ताप्लेजुङ, तेह्रथुमका साथै सम्पूर्ण पूर्वी क्षेत्रको प्रतिष्ठा बढाएको छ । 


फाल्गुनन्द गोल्ड कप प्रतियोगिता हुँदा फिदिममा फुटबलकै चाड लागेको महसुस हुन्छ । यो प्रतिगोगिता हेर्न झापा, इलाम, तेह्रथुम, ताप्लेजुङका फुटबलप्रेमी लोभिन्छन् ।  

यो प्रतियोगिता कोभिड–१९ को प्रकोप र फिदिमको खेल मैदान मर्मत कार्यका कारण २०७५ यताबाट स्थगित भएको थियो । ६ वर्षको अन्तरालपछि पुनः सञ्चालनमा आएको ११ औं संस्करण प्रतियोगिता पुस ६ गतेदेखि सञ्चालनरत छ । 


विजेता टोलीले नगद १० लाख ५५५ रुपियाँ र उपविजेताले ५ लाख ५५५ रुपियाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन । सर्वोत्कृष्ट खेलाडीलाई एक थान इभी स्कुटर प्रदान गरिनेछ जनाइएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपियाँ पुरस्कार दिइनेछ ।


प्रतियोगिताको फाइनल खेल पुस १५ गते सञ्चालन गरिने आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिनुभयो ।