• १७ असार २०८१, सोमबार

वनैवनको देशमा आठ अर्बको काठ आयात

blog

काठमाडौँ, भदौ २२ गते । मुलुकमा एक वर्षमा आठ अर्ब रुपियाँ बराबरको काठ र काठजन्य सामान आयात भएको छ । नेपाललाई हरियो वन नेपालको धन भने पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा बर्सेनि ठूलो परिमाणमा काठजन्य वस्तु आयात गर्नुपरेको हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार आव २०७८/७९ मा आठ अर्ब २२ करोड ३८ लाख ६५ हजार ५२६ रुपियाँको काठ र काठजन्य सामान आयात भएको छ । आव २०७७/७८ मा आठ अर्ब ५२ करोड ८६ लाख तीन हजार ५९१ रुपियाँको तथा आव २०७६/७७ मा पाँच अर्ब ८० करोड ३४ लाख ६७ हजार ५२९ रुपियाँको काठ र काठजन्य सामान आयात भएको विभागको तथ्याङ्क छ । 

वनमा काठ कुहिएर खेर गइरहेको र लुकिछिपी तस्करी भइरहेको बेला स्थानीय माग धान्न ठूलो परिणाममा आयात हुने गरेको छ । वन विभागका महानिर्देशक डा. राजेन्द्र केसीले स्वदेशी काठको प्रयोग गर्न नपाउँदा आयात गर्नुपरेको बताउनुभयो । “जङ्गलमा काठ कुहिएर खेर गइरहेका छन्, कानुन बनाएर काठ प्रयोग गरियो भने स्थानीय माग पूरा गरेर निर्यात गर्न सकिन्छ,” उहाँले भन्नुभयो ।

नेपाल फर्निसिङ व्यवसायी सङ्घका सचिव राजकुमार दाहालले स्थानीय काठ खरिद गर्दा प्रक्रियागत झन्झट र महँगो हुनेहुँदा बाहिरी मुलुकबाट आयात गर्ने गरेको बताउनुभयो । यसले गर्दा स्थानीय स्तरमा काठ कुुहिएर खेर गइरहेको उहाँले जानकारी दिनुभयो । 

नेपाल वन पैदावर महासङ्घ र प्लाइउड सङ्घबाट मात्र काठ खरिद गर्नेुपर्ने सरकारी नीतिले काठ किनेर सामान बनाउन महँगो हुँदा आयात गरेर सामान बनाउन सस्तो पर्ने उहाँले जानकारी दिनुभयो । स्वदेशी काठलाई प्रयोग गर्न सरकारले नीतिगत तवरबाट सहजीकरण गरेपछि आयात गर्नुपर्ने अवस्था नहुने उहाँले जानकारी दिनुभयो ।

स्थानीय उत्पादनले माग धान्न नसकेपछि व्यवसायीले भारत, चीन, इन्डोनेसिया, मलेसिया, म्यान्मार, सिङ्गापुर तथा युक्रेनलगायतका देशबाट काठ आयात गर्छन् । मुख्यतः गोलिया, चिरान, प्लाई, झ्यालढोकामा प्रयोग हुने फ्रेमजस्ता वन पैदावार आयात हुने गरेको छ ।

फर्निचर वर्गभित्र पर्ने फ्लोरिङ कार्पेट, गलैँचा, म्याट्रेस, तकिया, डोरम्याट तथा प्लास्टिकजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भए पनि अन्य काठजन्य उत्पादन भने विदेशबाट आयात हुने गर्छ । 

आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार नेपालमा वन क्षेत्रले ५९ लाख ६२ हेक्टर र अन्य झाडी तथा बुट्यान क्षेत्रले छ लाख ४८ हजार हेक्टर भू–भाग ओगटेको छ । 

कुल भू–भागको ४० दशमलव ४ प्रतिशत वन र ४ दशमलव ४ प्रतिशत झाडी तथा बुट्यान क्षेत्र गरी कुल वन क्षेत्र ४४ दशमलव ८ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । 

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षणअनुसार मुलुकभर उत्पादनमूलक फर्निचर उद्योगको सङ्ख्या छ हजार ६९६ छ । 

मुलुकमा उत्पादनमूलक काठ उद्योगको सङ्ख्या भने एक हजार १६९ छ । 

उत्पादनमूलक फर्निचर उद्योगले नेपालको अर्थतन्त्रमा आठ अर्ब चार करोड रुपियाँ बराबरको मूल्य अभिवृद्धि गरेका छन् । त्यसैगरी काठजन्य उद्योगले भने नेपालको अर्थतन्त्रमा ११ अर्ब पाँच करोड रुपियाँ बराबरको मूल्य अभिवृद्धि गरेका छन् ।