• १९ असार २०८२, बिहिबार

समाज रूपान्तरणमा नाट्यकर्मी महिला

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार १९ गते । उपसभामुख इन्दिरा रानामगरले नेपालको सामाजिक रूपान्तरणमा महिला कलाकर्मी र पुरुषको बराबरी योगदान रहेको बताउनुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा ‘समाज रूपान्तरणमा सङ्गीत, नृत्य र नाट्यकर्मी महिला’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले नेपालका सबै खाले परिवर्तनमा नेपाली महिलाको निर्णायक सहभागिता रहेको बताउनुभयो । महिला कलाकर्मीले कलाका माध्यममार्फत चेतना जगाएर सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । 

प्रतिनिधि सभा सदस्य पूर्ण घर्तीले अन्तर्क्रियामार्फत विचार संश्लेषणसँगै इतिहासको अभिलेखीकरणसमेत हुने भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले हरेक राजनीतिक आन्दोलनको उठान, सञ्चालन र बैठानमा कलाकर्मीको ठुलो योगदान रहेको इतिहास मेट्न खोजे पनि कुनै पनि दिन सचेतताका साथ उत्खनन भएरै छोड्ने बताउनुभयो । कार्यक्रम संयोजक प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव कुस्मा महरा ‘प्रगति’ ले समाज रूपान्तरणमा भूमिका खेलेका संस्कृतिकर्मीको सम्मान, खोज र उचित मूल्याङ्कन हुनुपर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । 

गोष्ठीमा डा. विन्दु शर्माले ‘समाज रूपान्तरणमा नाट्यकर्मी महिलाको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उहाँको कार्यपत्रमाथि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. अशोक थापाले टिप्पणी गर्नुभएको थियो । नृत्यकर्मी महिलाले समाज रूपान्तरणमा पारेको प्रभावबारे कल्पना राजचल श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रउपर नृत्यविज्ञ डा. लोकनाथ दुलाले टिप्पणी गर्नुभएको थियो । सङ्गीतकर्मी महिलाको भूमिकाबारे वरिष्ठ गायिका सीता आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । संस्कृतिकर्मी हेमराज आश्रमले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो ।