चन्द्र पन्दाक
ताप्लेजुङ, असार १९ गते । ताप्लेजुङमा ठोस फोहोर व्यवस्थापन तथा वातावरणीय सरसफाइसम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ । सुरक्षा निकायसहितका सरोकारवालालाई सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ताप्लेजुङले तालिम प्रदान गरेको हो ।
स्वच्छ तथा सफा वातावरण निर्माणमा टेवा दिने उद्देश्यसहित महासङ्घले सरोकारलालाई तीन दिने तालिम प्रदान गरेको हो । डिभिजन वन कार्यालय ताप्लेजुङको सहयोगमा सुरक्षाकर्मीसहितलाई ठोस फोहोर व्यवस्थापन तथा वातावरण सरसफाइसम्बन्धी तालिम प्रदान गरिएको महासङ्घका जिल्ला अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो ।
अध्यक्ष ओझाका अनुसार सुरक्षा निकायतर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी, फुङ्लिङ नगरपालिकाका नगर प्रहरीलाई तालिम प्रदान गरिएको छ । तालिममा जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायिक वन उपभोक्ता समूह, उद्योग वाणिज्य सङ्घ, दलित सञ्जाललगायत सरोकारवाला निकायका प्रतिनिधिलाई सहभागी गराई फोहोर व्यवस्थापन तथा वातावरणीय सरसफाइसम्बन्धी तालिम प्रदान गरिएको छ ।
सदरमुकाम फुङ्लिङमा सञ्चालित तीन दिने तालिम सोमबार सुरु भई बुधबार सम्पन्न भएको थियो । आयोजक फेकोफन जिल्ला महासङ्घका अनुसार तालिममा ५० जना प्रशिक्षार्थी सहभागी भएका भएका थिए । तालिममा वन विषयका विज्ञ तथा प्राध्यापक गुलावकुमार चौधरी र वन अधिकृत शिशुराज झाले सहजीकरण गर्नुभयो ।
तालिम सम्पन्न भएपछि आयोजित समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, डिभिजनल वन अधिकृत नथुनी गोहिबार यादव, प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम, सशस्त्र प्रहरी नायब उपरीक्षक नरेश महर्जन लगायतले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गर्नुभयो । डिभिजन वन कार्यालयकै सहयोगमा महासङ्घले वन प्रवर्धन तथा ज्ञान प्रवर्धनसम्बन्धी सूचना प्रणाली तालिम सञ्चालन गरेको थियो ।