फडिन्द्र अधिकारी
लेखनाथ, असार १९ गते। गण्डकी प्रदेश सरकारले युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले दिने सीपमूलक तालिम गण्डकीमा प्रभावकारी बनेको छ। व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखराले चालु आर्थिक वर्षमा सात सय ८७ जनालाई विभिन्न खालका सीपमूलक तालिम दिएको छ।
सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको केन्द्रले यो वर्ष ३८ वटा तालिम सञ्चालन गरेको छ। पछिल्लो ३ महिनामा भएका १० तालिममा सहभागी दुई सय चार जनालाई बिहीबार प्रमाणपत्र वितरण गरियो। कार्यक्रममा गण्डकीका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले केन्द्रले आगामी वर्ष दोब्बर अर्थात् एक हजार चार सय जनालाई तालिम दिने योजना सुनाउनुभयो।
सीप सिकेर स्वदेशमा नै उद्यम गर्न चाहने युवालाई प्रदेश सरकारले बिउ पुजीको व्यवस्था गर्ने भएको छ। “आगामी वर्ष दोब्बर युवालाई व्यावसायिक सीप सिकाउने योजना छ,” थापाले भन्नुभयो, “तालिम लिएपछि आफैंँ उद्यम गर्न चाहने युवालाई सिड मनी पनि सरकारले दिने छ।” आर्थिक अवस्था कमजोर भएका युवालाई उद्यमी र स्वरोजगार बनाउन सरकार साथमा रहेको उहाँको भनाइ छ।
कार्यक्रममा केन्द्रका प्रमुख डिल्लीराज सुवेदीले तालिमले प्रशिक्षार्थीलाई स्वावलम्बी बनाउने विश्वास व्यक्त गर्नुभयो। पछिल्लो ३ महिने तालिममा मोबाइल मर्मत, प्लम्बिङ, सिलाइकटाइ, ब्युटी पार्लर, फेसन डिजाइन, सैलुन, मटेसरी, कुक र एडभान्स कटाइ सिलाई सिकाइएको छ। सुवेदीले तालिम लिएको जनशक्तिले आर्थिक समृद्धिका लागि योगदान गर्ने अपेक्षा गर्नुभयो।
केन्द्रका लेखा अधिकृत विनोद रेग्मीले दक्ष जनशक्ति तयार गर्न सरकारले आर्थिक लगानी गरेको प्रष्ट पार्दै त्यसलाई सार्थक पार्न आग्रह गर्नुभयो। “सीप सिकाउन राज्यले ठुलो आर्थिक लगानी गरेको छ,” उहाँले भन्नुभयो, “तपाईंहरूले समय र परिश्रम लगानी गर्नुभएको छ। अब प्रतिफल निकाल्न तपाईंहरू लाग्नुस्, सघाउन हामी तयार छौँ।”
प्रशिक्षार्थी पुष्पा पौडेल पाहारीले तालिमले आफूजस्ता आर्थिक रूपमा कमजोर पृष्ठभूमिका युवामा आशा र विश्वास भरेको सुनाउनुभयो। “केही बन्छु, केही गर्छु भन्ने आत्मविश्वास जागेको छ। अब सिकेको सीपलाई उपयोग गरी आर्थिक रूपमा सबल बन्न चाहन्छु,” उहाँले भन्नुयभो। कार्यक्रममा ब्युटीपार्लरकी प्रशिक्षक यामकुमारी राना, कम्प्युटर प्रशिक्षक गीता बस्याल र प्रशिक्षक कृष्णप्रसाद थापाले बोल्नुभएको थियो।