• १६ चैत २०८०, शुक्रबार

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा उजुरी

blog

फाइल तस्बिर ।

काठमाडौं, भदौ २२ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । पीडित किशोरीका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध मङ्गलवार काठमाडौं प्रहरी परिसरमा उजुरी परेको हो ।

लामिछाने अहिले वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न जानु भएको छ । लामिछाने केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज खेलेर उतैबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज जानुभएको हो । केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा भने लामिछानेको स्थानमा रोहित पौडेलले नेपालको कप्तानी सम्हाल्नुभएको थियो ।

नेपालले केन्याविरुद्ध टी–२० सिरिज ३–२ ले जितेको थियो । एकदिवसीयमा भने नेपालले ‘क्लिन स्वीप’ गरेको थियो । नेपाली टोली आजै (बुधबार) स्वदेश फर्कदैछ । लामिछानेको नेतृत्वमा नेपाली टोली केन्याविरुद्ध  सिरिज खेल्न भदौ ६ गते केन्या प्रस्थान गरेको थियो ।

त्यसैको अघिल्लो दिन भदौ ५ गते लामिछानेले आफूमाथि जबरजस्ती करणी गरेको उजुरी किशोरीले दिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । प्रहरीले उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाई सकेको पनि जनाएको छ । 

प्रहरीका अनुसार ती किशोरीले उजुरीमा आफूले स्न्याप च्याटमार्फत प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसैको आधारमा भेट्न बोलाएर भदौ ५ गते नगरकोट घुमाउन लगेको उल्लेख गरेकी छन् । किशोरीले नगरकोटबाट त्यही रात फर्किएर काठमाडौंको गौशाला नजिक एक होटलमा लगेर आफूलाई लामिछानेले जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् ।

सन् २०१६ देखि नेपाली राष्ट्रिय टोलीमा खेल्दै आउनुभएका लामिछाने चर्चित इन्डियन प्रिमियर लिग, बिग बास लिग जस्ता अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दै आउनुभएको छ । यसै वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तान बन्नुभएका लामिछाने विश्व चर्चित क्रिकेटर हुनुहुन्छ ।