भूमे गाउँपालिका–१, लुकुममा रेन्बो ट्राउट माछा हुर्किंदै छन् । पहिलो पटकका रेन्बो ट्राउट माछा सबै मरे भने हाल दोस्रो पटकका माछा भने हुर्किरहेका छन् । सिद्धचौर माध्यमिक विद्यालय लुकुमका प्राध्यानाध्यपकसमेत रहनुभएका लुकुमका रामबहादुर पुनमगरले जिल्लामै पहिलो पटक रेन्बो ट्राउट माछापालन सुरु गर्नुभएको छ । माछापालनका लागि आवश्यक भौतिक संरचना तयार बनाइसकेपछि पुनले गत वर्षको असारमा रेन्बो ट्राउट माछापालन सुरु गर्नुभएको हो ।
चितवनको रत्ननगर नगरपालिका कार्यालयमा आवश्यक ‘डकुमेन्ट’ (दस्तावेज) नराख्दा खर्च र कार्यसम्पादनमा बेथितिको चाङ देखिएको छ। नियमावली पालना नगर्दा पालिकाको कार्यसम्पादनमा समेत प्रश्न उठेको छ । पालिकाले खर्च गर्दा नियमावलीलाई पालना नगर्दा आवश्यक अभिलेख नराखेको पाइएको छ भने खरिद गर्दा ऐन नियमको पालना नगरेको पाइएको महालेखाको कार्यालयको प्रतिवेदन २०७९ मा औँल्याइएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालसँग अलग्गिएर बनेको नेपाल समाजवादी पार्टीले केन्द्रीय कमिटी गठनपछिको पहिलो बैठक बसेको छ। काठमाडौँमा शनिबार बसेको बैठकलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमा अझै धेरै प्रयोग गर्न बाँकी रहेको बताउनुभयो। उहाँले आफ्नो पार्टी नयाँ भएकाले देशव्यापी बनाउन नेता र कार्यकर्तालाई निर्देशन दिनुभयो।
सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ राष्ट्रिय सहकारी बैङ्क लिमिटेडले तीन अर्बको तरलता व्यवस्थापन कोष स्थापना गरेको छ । सञ्चालक समितिको बैठकले सहकारी क्षेत्रमा देखिएको तरलता व्यवस्थापनमा बैङ्कका तर्फबाट सहयोग तथा समन्वय गर्नका लागि कोष स्थापना गर्ने निर्णय गरेको बैङ्कका अध्यक्ष केबी उप्रेतीले जानकारी दिनुभयो । सहकारीलाई सङ्कटबाट जोगाउन सञ्चालक रामहरि बजगाईंको संयोजकत्वमा बैकका सातवटै प्रदेशका संयोजक र बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईं सदस्य रहेको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यदलसमेत गठन गरेको छ ।
छिमेकी देश भारतले गहुँको निर्यात नखोल्दा नेपाली फ्लोर मिल बन्द हुने अवस्थामा पुगेका छन् । उद्योगीका अनुसार कच्चा पदार्थ गहुँको अभावमा उद्योगहरू बन्द हुने अवस्थामा पुगेपछि बजारमा गहुँ, मैदा र सुजीको पिठोका साथै गाईको दाना अर्थात् चोकरको अभाव हुन सक्ने भन्दै फ्लोर मिल सञ्चालकले चिन्ता व्यक्त गरेका छन् । नेपालमा उत्पादित गहुँले तीन महिनासम्मलाई मात्रै धान्न सक्ने उद्योगीले बताएका छन् । रुपन्देही फ्लोर मिलका कोषाध्यक्षसमेत रहनुभएका अरुण एग्रो इन्ड्रस्टिज प्रालिका सञ्चालक अरुणकुमार गोयन्काले नेपालमा उत्पादित गहुँले उद्योगहरू तीन महिनाभन्दा बढी चल्न नसक्ने हुँदा सरकारले गहुँको आयात खोल्नका लागि भारत सरकारसँग पहल गर्नुपर्ने बताउनुभयो ।
करिब दुई दशकअघिसम्म हराभरा देखिने काठमाडौँ उपत्यकाको बूढानीलकण्ठ र कपन क्षेत्र अहिले पत्याउनै नसकिने गरी घनाबस्तीमा परिवर्तन भएको छ। अव्यवस्थित बस्ती विस्तारले वर्षात्सँगै बाढी र डुबानको व्यापक त्रास छ। काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सीमाको चखुँचा र यज्ञमती खोला प्राकृतिक एवं स्वभावगत ढङ्गबाट बग्दासम्म यी क्षेत्र हराभरा थिए। इनारमा पानी आउँथ्यो। अझ त्यति बेला त सिँचाइ सुविधाको आधार नै यी दुई खोला थिए। भल छोपेर किसानले रोपाइँ गर्थे। त्यही रोपाइँले भूमिगत जल पुनः साबिककै ठाउँमा आउँदा पानीको स्रोत पर्याप्त थियो। बस्ती विस्तारसँगै यी दुवै खोलामा बस्ती पसेपछि पानीको हाहाकार त भएकै छ, वर्षात्मा बाढीले बस्ती डुबानमा पर्दै छ। बस्ती विस्तारका नाममा कुरूप अव्यवस्थाले स्थानीय ठूलो मारमा छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाबाट साउन १७ गते चालू आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रम कार्यान्वयनका सम्बन्धमा मन्त्री र सचिवलाई दिनुभएको २७ बुँदे निर्देशन सार्वजनिक भएको छ। सरकारी निकायबाट सञ्चालन गरिने वर्षभरिका क्रियाकलापको सँगालो नै वार्षिक कार्यक्रम हो। यसका लागि विकास र साधारणतर्फ गरी करिब १८ खर्ब रुपियाँको बजेट विनियोजन गरिएको छ। निर्देशनले मन्त्री र सचिवलाई जिम्मेवार र उत्तरदायी बनाउनुका साथै एक प्रकारको ऊर्जा भर्ने काम गरेको छ। यस प्रकारको निर्देशन वार्षिक रूपमा हुने नियमित प्रकृतिको भए पनि आर्थिक सङ्कटको नजिकै रहेको नेपालको अर्थतन्त्रलाई बचाउनु अहिलेको प्रमुख कार्यसूची रहनुपर्ने सन्दर्भमा यसपालिको निर्देशनको विशेष महत्त्व छ।
आगामी मङ्सिर ४ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सङ्घ र प्रदेशको दोस्रो निर्वाचन सम्पन्न हुँदै छ। यो निर्वाचन परिणामले नेपालमा राजनीतिक स्थिरता वा अस्थिरता, सुशासन र जवाफदेहिता, सङ्घीय शासन प्रणालीको संस्थागत विकास वा फेरि परिवर्तनका नाममा अनेकौँ प्रयोग जस्ता थुप्रै प्रश्नको जवाफ दिनेछ। यसर्थ आम मतदाताले आगामी सङ्घ तथा प्रदेश सभा निर्वाचनमा विशेष ध्यान दिनु जरुरी छ।
केही दिनअघि माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित भयो। परीक्षा परिणाम प्रकाशित भएको भोलिपल्टैदेखि अनेकौँ शैक्षिक संस्थामा भर्ना खुल्यो भन्ने आकर्षक विज्ञापन पत्रपत्रिकामा पढ्न पाइएको छ, रेडियोहरूबाट सुन्न र टेलिभिजनमा हेर्न पाइएको छ। महँगो शुल्क असुल्ने शैक्षिक संस्थाका आकर्षक र ठूला विज्ञापन देखिन्छन् भने मध्यम शुल्कवालाका त्यही अनुपातका साना विज्ञापन भएका छन्। सबैका दावा आ–आफ्नै छन्।
कोभिड महामारी सुरु हुनुअघि पनि थुप्रै प्रकारको महामारी विश्वले झेलेको थियो। ती महामारीमध्ये केही महामारी खास क्षेत्रमा सीमित थियो भने केही महामारीको प्रभाव विश्वभर फैलन वर्षौं लागेको थियो। सम्पूर्ण विश्वलाई तीव्र रूपमा प्रभावित गरेको महामारी सम्भवतः कोभिड नै हो। वुहानदेखि साओ पाउलोसम्म कोभिड–१९ को सङ्क्रमण र मृत्युदरको चर्चा संसारभर नै भइरह्यो र अहिले प्रभावकारी भ्याक्सिन उपलब्ध भइसक्दासमेत कोभिडको सन्त्रास हटिसकेको छैन। सङ्क्रमण दिनानुदिन बढ्दै गइरहेको छ।
बङ्गलादेशले नेपाललाई आफ्ना दुई सामुद्रिक बन्दरगाहसहित एउटा विमानस्थल प्रयोग गर्न प्रस्ताव गरेको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सो प्रस्ताव गर्नुभएको हो । बङ्गलादेश भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापतिसहितको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले बन्दरगाह प्रयोगको प्रस्ताव गर्नुभएको हो । बङ्गलादेशले यसअघि पनि नेपाललाई आफ्ना मोङ्गला र चट्टोग्राम बन्दरगाह प्रयोगका लागि प्रस्ताव गरेको थियो । “हाम्रा मोङ्ला र चट्टोग्राम बन्दरगाह प्रयोग गरेर नेपालले फाइदा लिन सक्छ,” नेपाली टोलीसँग भेटका क्रममा उहाँले भन्नुभयो ।
चितवन जिल्लामा गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भन्दा झन्डै ५५ हजार मतदाता बढ्ने देखिएको छ। जिल्ला निर्वाचन कार्यालय चितवनले दिएको तथ्याङ्कअनुसार २०७४ सालको सम्पन्न संसदीय निर्वाचनमा चितवनमा तीन लाख ५४ हजार ३६ मतदाता थिए। यो सङ्ख्या बढेर गत वैशाखमा सम्पन्न दोस्रो स्थानीय तह पदाधिकारी निर्वाचनमा तीन लाख ९७ हजार ६८५ पुगेको थियो। निर्वाचन कार्यालयका अनुसार गत वैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनपछि जिल्लामा १४ हजार ७३१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।
कान्ति बाल अस्पतालमा क्यान्सर उपचारका लागि छुट्याएको २६ शøया भरिएको छ। तीबाहेक छ शøया डे केयरका लागि छुट्याइएको छ। छवटा शøयामा छोटो अवधिका लागि मात्र क्यान्सरपीडित बालबालिकाको उपचार हुँदै आएको छ। कान्ति अस्पतालका निर्देशक डा. युवा बसौलाले अस्पतालमा चार महिनादेखि १४ वर्ष उमेरसम्मका बालबालिका क्यान्सरको उपचार गराउन आएको बताउँदै तीमध्ये सबैभन्दा बढी रक्त क्यान्सरसम्बन्धी पीडित बालबालिका रहेको जानकारी दिनुभयो।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि हुने आगामी निर्वाचन प्रयोजनका लागि आइतबारदेखि राजनीतिक दल दर्ता सुरु हुँदै छ। सरकारले मङ्सिर ४ गते निर्वाचनको मिति घोषणा गरेपछि आयोगले निर्वाचन तयारी तथा व्यवस्थापनअन्तर्गत दल दर्ता आह्वान गरेको हो।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव तथा राष्ट्रिय खेलाडी राजबहादुर सिंहको स्मृतीमा प्रकाशित “सम्झनामा राजबहादुर सिंह” कृतिको लोकार्पण गर्नुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमबीच मन्त्री अथकले उक्त कृति बिमोचन गर्नुभएको हो ।