• ७ जेठ २०८१, सोमबार

राजनीतिमा अझ धेरै प्रयोग गर्न बाँकी रहेको दाबी

blog

काठमाडौँ, साउन २२ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालसँग अलग्गिएर बनेको  नेपाल समाजवादी पार्टीले केन्द्रीय कमिटी गठनपछिको पहिलो बैठक बसेको छ। 

काठमाडौँमा शनिबार बसेको बैठकलाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमा अझै धेरै प्रयोग गर्न बाँकी रहेको बताउनुभयो। उहाँले आफ्नो पार्टी नयाँ भएकाले देशव्यापी बनाउन नेता र कार्यकर्तालाई निर्देशन दिनुभयो। 

स्थानीय तहसम्म नै पार्टीलाई पु-याउन र नयाँ मतदातालाई आकर्षित गर्नुपर्ने भएकाले आफ्नो पार्टीले यो समयमा मेहनत गर्नुपर्ने उहाँले बताउनुभयो। अहिले पार्टीलाई सजिलो नभएकाले मेहनत आवश्यक रहेको भन्दै अध्यक्ष भट्टराईले तल्लो तहसम्म पुगेर पार्टीका गतिविधि अघि बढाउनु आवश्यक रहेको बताउनुभयो। 

उहाँले आगामी निर्वाचनमा विचार मिल्ने राजनीतिक शक्तिहरूसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गरिने बताउनुभयो।  “जनताका मुद्दालाई चुनावको क्रममा महत्त्व पूर्ण ढङ्गले उठाउने छ। र ती विषयमा गम्भीर छलफल गरी पार्टीको केन्द्रीय समिति बैठकले आवश्यक निर्णय लिन्छ’’ अध्यक्ष भट्टराईले बताउनुभयो। आफ्नो पार्टीले समावेशी, सङ्घीय, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गर्नुभयो। 

त्यस्तै उहाँले जनता समाजवादी पार्टी (जसपा) नेपाल जातीय तथा क्षेत्रीय सङ्कीर्णताको बाटोमा पतन हुने अवस्था आएको दाबी गर्नुभयो। जसपाले देश र जनताको हित गर्न नसक्ने र उक्त पार्टी जातीय सङ्कीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरूले मुलुकको वैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न नयाँ पार्टी पुनर्गठन गर्न बाध्य हुनु परेको नेता भट्टराईले दाबी गर्नुभयो। जारी केन्द्रीय समितिबाट नेपाल समाजवादी पार्टीलाई वैधानिकता दिइने र मङ्सिर ४ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कोसँग तालमेल र गठबन्धन गर्ने भन्ने तय हुने भट्टराईले जानकारी गराउनुभयो। विभाजनपछि बनेको पार्टीका अधिकांश केन्द्रीय सदस्यहरू पूर्वमाओवादीबाट भट्टराईसँगै विद्रोह गरेका हुनुहुन्छ। 

त्यस्तै जसपा विभाजनपछिका मधेशकेन्द्रित आन्दोलनका नेतासमेत १८९ सदस्यीय केन्द्रीय समितिमा हुनुहुन्छ। बाबुराम पत्नी एंव नेत्री हिसिला यमी र छोरी मानुषी यमी भट्टराई पनि केन्द्रीय सदस्यमा अटाउनुभएको छ। 

अध्यक्षमा भट्टराई र यादव

यसैबीच बैठकबाट पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन हुनुभएको छ। सो पार्टी गठनपछि शनिबार बसेको बैठकले केन्द्रीय समितिले उहाँहरूलाई चयन गरेको हो। वरियतामा दुवै अध्यक्षलाई बराबर हैसियत प्रदान गरिएको छ। 

पार्टीका कार्यकारिणी सदस्य अक्कलबहादुर थिङका अनुसार पार्टीको विधानमा व्यवस्था भएअनुसार सङ्घीय परिषद् अध्यक्ष पद भने खाली छ। बैठकले पार्टीको तेस्रो वरियतामा सहअध्यक्षमा गङ्गानारायण श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्षमा दुर्गा सोब, हिसिला यमी र भक्तबहादुर शाहलाई चयन गरिएको छ भने महासचिवमा रमेश यादवलाई चयन गरेको छ। बैठकले नौ जना केन्द्रीय कार्यकारिणी सदस्यलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ। 

प्रदेश नम्बर १ मा राजेन्द्रकुमार किराँती, मधेश प्रदेशमा देवेन्द्र यादव, बागमती प्रदेशमा अक्कलबहादुर थिङ, गण्डकी प्रदेशमा मोतीप्रसाद पंगाली, लुम्बिनी प्रदेशमा कमलप्रसाद खनाल, कर्णाली प्रदेशमा देवीबहादुर बुढाथोकी, सुदूरपश्चिममा जनक शाह, गैरभौगोलिक विशेष प्रदेशमा ईश्वर रिजाल र प्रवास विशेषमा घमानसिं गुरुङ रहनुभएको छ।