• ५ साउन २०८१, शनिबार

आयात रोकिँदा उद्योग सङ्कटमा

blog

भैरहवा समाचारदाता

भैरहवा, साउन २२ गते । छिमेकी देश भारतले गहुँको निर्यात नखोल्दा नेपाली फ्लोर मिल बन्द हुने अवस्थामा पुगेका छन् । उद्योगीका अनुसार कच्चा पदार्थ गहुँको अभावमा उद्योगहरू बन्द हुने अवस्थामा पुगेपछि बजारमा गहुँ, मैदा र सुजीको पिठोका साथै गाईको दाना अर्थात् चोकरको अभाव हुन सक्ने भन्दै फ्लोर मिल सञ्चालकले चिन्ता व्यक्त गरेका छन् ।

नेपालमा उत्पादित गहुँले तीन महिनासम्मलाई मात्रै धान्न सक्ने उद्योगीले बताएका छन् । रुपन्देही फ्लोर मिलका कोषाध्यक्षसमेत रहनुभएका अरुण एग्रो इन्ड्रस्टिज प्रालिका सञ्चालक अरुणकुमार गोयन्काले नेपालमा उत्पादित गहुँले उद्योगहरू तीन महिनाभन्दा बढी चल्न नसक्ने हुँदा सरकारले गहुँको आयात खोल्नका लागि भारत सरकारसँग पहल गर्नुपर्ने बताउनुभयो ।  

“नेपालको गहुँले वैशाख, जेठ र असार महिनासम्म जसोतसो गरी धाने पनि अब धान्न सक्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “कच्चा पदार्थको अभाव कायमै रहे उद्योग बन्द हुन गई गहुँमा आधारित उपभोग्य वस्तुको अभाव हुने अवस्था आएको छ ।”

नेपालमा सञ्चालित ३७ वटा उद्योगमध्ये चारवटा उद्योग बन्द भइसकेको र अन्य उद्योग पनि बन्द हुने अवस्थामा रहेको गोयन्काको भनाइ छ । २१ वटा उद्योग रहेको लुम्बिनी प्रदेशमा १७ वटा उद्योग रुपन्देहीमा मात्र रहेका छन् ।

“नेपाली उद्योगलाई १० लाख मेट्रिक टन गहुँ आवश्यक पर्छ,” कोषाध्यक्ष गोयन्काले भन्नुभयो, “नेपालमा साढे तीन लाख मेट्रिक टन मात्र उत्पादन हुने गर्छ, बाँकी सबै भारतलगायतका देशबाट आयात गर्नुपर्ने हुन्छ ।”

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट गहुँ आयात गर्न चाहने उद्योगी तथा व्यवसायीका लागि सूचना जारी गरे पनि अहिलेसम्म गहुँ आयात नखुलेको उद्योगी गोयन्काले जानकारी दिनुभयो । मन्त्रालयले गहुँ आयात गर्न चाहने उद्योगी तथा व्यवसायीका लागि साउन २८ गतेभित्र मन्त्रालयको इमेलमा आवश्यक कागजात पेस गर्न भनेको छ ।

गहुँ बेकरीदेखि होटलहरूमा बन्ने अधिकांश परिकारको कच्चा पदार्थ हो । नेपालमा नौ महिनाका लागि आवश्यक पर्ने गहुँबाट उत्पादन हुने मैदाको माग पूर्ति आयातित गहुँबाटै हुने गरेको घराना फुड्स प्रालिका सञ्चालक विकास गोयन्काले बताउनुभयो । उहाँले गोदाममा गहुँको स्टक सकिन लागेको बताउँदै स्टक रहेको गहुँले बढीमा १५ देखि २० दिनसम्म मात्रै धान्ने बताउनुभयो । 

भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले प्रकाशन गरेको एक तथ्याङ्कअनुसार सन् २०२०/२१ मा भारतले गहुँ निर्यात गर्ने दोस्रो प्रमुख देश नेपाल रहेको छ । उक्त अवधिमा भारतले नेपाललाई तीनलाख ३० हजार ७०७ मेट्रिक टन गहुँ निर्यात गरेको थियो ।

भारत सरकारले भारतका साथै अन्य छिमेकी राष्ट्रमा खाद्य सुरक्षाको कारण देखाउँदै गहुँ निर्यातमा रोक लगाएको हो ।