• ५ साउन २०८१, शनिबार

दुई बन्दरगाह प्रयोग गर्न बङ्गलादेशको प्रस्ताव

blog

काठमाडौँ, साउन २२ गते ।  बङ्गलादेशले नेपाललाई आफ्ना दुई सामुद्रिक बन्दरगाहसहित एउटा विमानस्थल प्रयोग गर्न प्रस्ताव गरेको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सो प्रस्ताव गर्नुभएको हो । बङ्गलादेश भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापतिसहितको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले बन्दरगाह प्रयोगको प्रस्ताव गर्नुभएको हो ।

बङ्गलादेशले यसअघि पनि नेपाललाई आफ्ना मोङ्गला र चट्टोग्राम बन्दरगाह प्रयोगका लागि प्रस्ताव गरेको थियो ।  “हाम्रा मोङ्ला र चट्टोग्राम बन्दरगाह प्रयोग गरेर नेपालले फाइदा लिन सक्छ,” नेपाली टोलीसँग भेटका क्रममा उहाँले भन्नुभयो । 

बङ्गलादेशको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपाली प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री हसिनाले द्विपक्षीय लाभका लगि आफ्नो सेयदपुर विमानस्थल पनि प्रयोग गर्न प्रस्ताव गर्नुभयो । उक्त विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न लागिएको पनि उहाँले जानकारी दिनुभयो । “नेपालसहितका छिमेकी देशले विमानस्थल प्रयोग गर्न सक्नेछन,” 

उहाँले भन्नुभयो ।

समितिका सभापति पवित्रा निरौला खरेल नेतृत्वको सो भेटमा दुवै पक्षले व्यवसाय र व्यापारमा आपसी लाभका लागि द्विपक्षीय सहयोगमा जोड दिएका थिए । भेटमा नेपाली टोलीले बङ्गलादेशसँग कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष मनाइरहेकाले पनि यस वर्ष दुई देशका लागि विशेष रहेको 

जनाएको थियो । 

त्यस्तै नेपाल र बङ्गलादेशबीच जलविद्युत्, पर्यटन, शिक्षा, आईसीटी, कनेक्टिभिटीलगायतका क्षेत्रमा पनि आपसी सहकार्य गर्न सक्ने टोलीले सुझाव दिएको थियो । 

त्यस्तै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउन उच्चस्तरीय टोलीको नियमित भ्रमणलाई पनि नेपाली टोलीले जोड दिएको थियो । बङ्गलादेशले पछिल्लो समय पूर्वाधारलगायतको क्षेत्रमा हासिल गरेको विकास र त्यसको नेतृत्वका लागि नेपाली टोलीले प्रधानमन्त्री हसिनाको प्रशंसा गरेको थियो । 

नेपाली टोलीमा सांसदहरू चन्दतारा कुमारी, डा. दीपकप्रकाश भट्ट, देव तिमल्सिना, लीलादेवी सिटौला, नारदमुनि राना र सरलाकुमारी यादव सहभागी हुनुहुन्थ्यो ।

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८÷७९ मा नेपालले बङ्गलादेशबाट ११ अर्ब २० करोड रुपियाँको वस्तु आयात गरेको छ । त्यस्तै नेपालले बङ्गलादेशमा ७२ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । 

नेपालले बङ्गलादेशबाट मुख्यगरी आलु, भटमास, चकलेट, ब्रेडलगायतका वस्तु आयात गर्छ । नेपालले बङ्गलादेशमा मान्छेको कपाल, अदुवा, यार्सागुम्बा, अम्रिसो, जुसलगायत वस्तु निर्यात गरेको छ ।