• १३ साउन २०८१, आइतबार

क्यान्सरपीडित बालबालिकालाई उपचार खर्च थप

blog

काठमाडौँ, साउन २२ गते । कान्ति बाल अस्पतालमा क्यान्सर उपचारका लागि छुट्याएको २६ शय्या भरिएको छ। तीबाहेक छ शय्या डे केयरका लागि छुट्याइएको छ। छवटा शय्यामा छोटो अवधिका लागि मात्र क्यान्सरपीडित बालबालिकाको उपचार हुँदै आएको छ। 

कान्ति अस्पतालका निर्देशक डा. युवा बसौलाले अस्पतालमा चार महिनादेखि १४ वर्ष उमेरसम्मका बालबालिका क्यान्सरको उपचार गराउन आएको बताउँदै तीमध्ये सबैभन्दा बढी रक्त क्यान्सरसम्बन्धी पीडित बालबालिका रहेको जानकारी दिनुभयो।

त्यसबाहेक मिर्गौला र आँखाको क्यान्सरका बालबालिका पनि अधिक सङ्ख्यामा हुने गरेका छन्। उहाँले कान्ति अस्पतालमा प्रत्येक वर्ष नयाँ पत्ता लाग्ने क्यान्सर रोग लागेका बालबालिकाको सङ्ख्या दुई सय हुने गरेको बताउँदै भन्नुभयो, “तीमध्ये निको हुने दर ७० प्रतिशत छ।” 

यसैबीच बागमती प्रदेशले कान्तिबाल अस्पतालमा उपचाररत क्यान्सर रोग लागेका बालबालिकालाई ५० हजार रुपियाँसम्मको उपचार खर्च उपलब्ध गराउने भएको छ। 

यसका लागि प्रदेश सरकार र अस्पतालबीच सम्झौता भएको छ। हाल केन्द्रीय सरकारले त्यस्ता प्रतिबालबालिका एक लाख रुपियाँसम्म उपचार खर्च बेहोर्दै आएको छ। बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखा प्रमुख दीपकप्रसाद तिवारीले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत कान्ति अस्पतालसँग सम्झौता गरिएको जानकारी दिनुभयो।