• १४ वैशाख २०८१, शुक्रबार

काठमाडौंमा हावाहुरीसहित वर्षा

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख ३१ गते। पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले अहिले काठमाडौं उपत्यकामा हावाहुरीसहित पानी परेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले उपत्यकामा पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण हावाहुरीसहित वर्षा भएको हो। 

मौसमविद् रोजन कोइरालाका अनुसार उपत्यकासहित अहिले  देशका पहाडी भूभागमा सामान्य वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा भने हावाहुरीसहितको वर्षा भएको हो। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा अहिले वर्षा भइरहेको छ। 

उहाँले भन्नुभयो, ‘‘पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण अहिले देशका पहाडी भूभागमा वर्षा भइरहेको छ, अहिले उपत्यकाको आकाशमा हावाहुरीसहित वर्षा भएको हो।’’ 

यो क्रम रोकिँदै पुन सुरु हुने उहाँको भनाइ छ। तराई क्षेत्रको मौसम भने सफा नै रहेको काइरालाको भनाइ छ। आगामी तीन दिन नै देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको उहाँ बताउनुहुन्छ। 

बङ्गालको खाडीमा विकसित भइरहेको ‘मोखा’ चक्रवातको नेपालमा  प्रभाव नरहने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ। मौसमविद् कोइरालाले नेपालमा मोखा चक्रवातको कुनै पनि प्रभाव नरहेको बताउनुभयो। 

“चक्रवात पूर्वतर्फ सरिरहेको छ, नेपालमा यसले असर गर्दैन”, उहाँले भन्नुभयो, “नेपाललाई नछोइकन बङ्गालको खाडी हुँदै तटीय क्षेत्रमा अघि बढेको चक्रवातले भुटान, बङ्गलादेश, थाइल्याण्ड र म्यानमारमा मुख्य असर पर्ने देखिन्छ।”