बाबुराम देवकोटा
सिन्धुलीमाढी, फागुन २३ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सिन्धुलीको निर्वाचन क्षेत्र नं. १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धनेन्द्रबहादुर कार्की १६ हजार ६५९ मत प्राप्त गरी विजयी बन्नुभएको छ ।
उहाँले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार प्रदिप कटुवाललाई ७८३ मत अन्तरले पछि पार्दै कडा प्रतिस्पर्धा बिच जित निकाल्नुभएको हो ।
एमाले उम्मेदवार कटुवालले १५ हजार ८७५ मत प्राप्त गरी पराजित हुनुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका उज्ज्वल बरालले १५ हजार ५७० मत र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार डेकेन्द्रप्रसाद सुवेदीले चार हजार ७०८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार कुल एक लाख १० हजार ३९१ मतदाता रहेकोमा ६० हजार ६७५ मत खसेको थियो । खसेको मतमा तीन हजार ३९५ मत बदर भई ५७ हजार २८० सदर भएको थियो । त्यस्तै एक स्वतन्त्र सहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धाका लागि मैदानमा थिए ।