गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २३ गते । पश्चिम एसियाका देशमा देखिएको तनावपछि कतार एयरवेजका दुई बोइङ ७८७–९ ड्रिम लाइनर जहाज एक सातादेखि नेपालमै रोकिएका छन् । कतारको दोहाबाट यात्रु बोकेर गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका यी जहाज कतारको हवाई आकाशमा उडान प्रतिबन्ध लागेपछि नेपालमै रोकिएका हुन् ।
कतार नागरिक उड्डयन प्राधिकरणले कतारी हवाई क्षेत्र सुरक्षित रहेको घोषणा गरेपछि मात्रै कतार एयरवेजले पुनः सञ्चालन सुरु गर्ने भएपछि एक सातादेखि यात्रुसँगै जहाजसमेत नेपालमै रोकिएका हुन् । इजरायल र संयुक्त राज्य अमेरिका र इरानबिचको संयुक्त सैन्य आक्रमणपछि शनिबारदेखि पश्चिम एसियामा सुरु भएको हवाई सङ्कटका विभिन्न ट्रान्जिटमा अलपत्र परेका यात्रुको उद्धारका लागि कतार एयरवेजले सीमित राहत उडान सञ्चालन गरे पनि उक्त उडान हुने देशमा नेपाल प्राथमिकतामा नपर्दा यताका जहाजसमेत फर्किन पाएका छैनन् । कतार एयरलाइन्सले बिहीबार लन्डनको हिथ्रो, बर्लिन, कोपेनहेगन, म्याड्रिड, रोम र एम्स्टर्डममा सीमित राहत उडान सुरु गर्ने जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सन्तुष्ठकुमार बस्नेतका अनुसार हाल पश्चिमी मुलुकतर्फ कतारको दोहा, संयुक्त अरब इमिरेट्स (युएई) को दुबई, सारजाहलगायतका गन्तव्यमा युद्धको प्रभावका कारण हवाई आकाश बन्द हुँदा नेपालबाट हुँदै उडान रोकिएको छ । उहाँले भन्नुभयो, “कतार, संयुक्त अरब, इमिरेट्स, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको हवाई आकाश बन्द भएका कारण कतारका दुई जहाज नेपालमै रोकिएका छन् । पछिल्लो समय दैनिक दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय उडान रद्द हुँदै आएका छन् ।”
कुवेतबाट आउने जजिरा एयरवेज, कुवेत एयरवेज, युएईबाट आउने फ्लाई दुबई, एयर अरेबिया र कतारबाट हुने उडान र नेपालबाट निगमको दोहा र दुबई तथा हिमालय एयरलाइन्सको दुबई र दमाम उडानतर्फ दैनिक उडान रोकिँदै आएको छ । शुक्रबार मात्रै उक्त गन्तव्यमा १४ वटा उडान रद्द भएका छन् ।
हाल नेपालबाट निगमले भारतको नयाँ दिल्ली, बैङलुरु र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्यान्ड र नारितामा उडान गर्दै आएको छ । त्यस्तै हिमालय एयरलाइन्सले मलेसिया, बङ्गलादेश र चीनमा यात्रुवाहक उडान सञ्चालन गरिरहेको छ ।