तेहरान, फागुन २३ गते । मध्यपूर्वमा जारी युद्ध दोस्रो हप्तामा प्रवेश गरिरहेका बेला इरानले इजरायल र संयुक्त राज्य अमेरिकासामु कहिल्यै आत्मसमर्पण नगर्ने स्पष्ट अडान दोहोर्याएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले राष्ट्रलाई सम्बोधन गर्दै आफ्नो देशले बाह्य दबाबका बिच पनि सङ्घर्ष जारी राख्ने बताउनुभयो ।
सरकारी टेलिभिजनबाट प्रसारण गरिएको भाषणमा राष्ट्रपति पेजेस्कियानले इरानमाथि आक्रमण गर्ने पक्षहरूले इरानी जनतालाई झुकाउन सकिन्छ भन्ने सोच राख्नु गलत हुने टिप्पणी गर्नुभयो । उहाँका अनुसार इरानका शत्रुले ‘इरानी जनताले आफ्नो चिहानमै गएर मात्र बिना शर्त आत्मसमर्पण गर्ने इच्छा राख्नुपर्छ’ भन्ने कुरा बुझ्नुपर्ने छ ।
फेब्रुअरी २८ मा इजरायल र संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध सैन्य आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव तीव्र बनेको थियो । सो आक्रमणमा इस्लामिक गणतन्त्रका सर्वोच्च नेता आयातुल्ला अली खामेनी मारिएको बताइएको छ, जसपछि मध्यपूर्वमा व्यापक द्वन्द्व सुरु भएको हो ।
त्यसपछि इरानले प्रतिक्रिया स्वरूप क्षेत्रीय देशहरूमा रहेका इजरायली तथा अमेरिकी हितका लक्ष्यमा मिसाइल र ड्रोन आक्रमण गरेको छ । ती आक्रमण विशेषगरी खाडी क्षेत्रका देशमा केन्द्रित रहेको बताइएको छ । खामेनीको हत्यापछि इरानमा अन्तरिम नेतृत्व परिषद् गठन गरिएको छ, जसमा राष्ट्रपति पेजेस्कियानले पनि सदस्यका रूपमा जिम्मेवारी सम्हाली रहनुभएको छ ।
उक्त परिषद् तीन सदस्यीय रहेको बताइएको छ । यसैबिच राष्ट्रपति पेजेस्कियानले इरानका कारबाहीबाट प्रभावित छिमेकी देशसँग क्षमायाचना पनि गर्नुभएको छ । भाषणका क्रममा उहाँले आफ्नातर्फबाट तथा इरानको तर्फबाट ती देशसँग माफी मागेको बताउनुभयो ।
उहाँले इरानले छिमेकी देशलाई लक्षित गर्ने नीति नअपनाउने स्पष्ट पार्नुभयो । अन्तरिम नेतृत्व परिषद्ले यसबारे सहमति गरिसकेको भन्दै उहाँले अब छिमेकी राष्ट्रबाट इरानमाथि आक्रमण नभएसम्म त्यस्ता देशतर्फ कुनै मिसाइल प्रहार नगर्ने निर्णय भएको जानकारी दिनुभयो । रासस/एएफपी