• २५ चैत २०८२, बुधबार

सिग्देल आज तनहुँमा, भूतपूर्व सैनिकसँग संवाद

blog

प्रधानसेनापति अशोकराज सिग्देल

अमरराज नहर्की
तनहुँ, चैत २५ गते ।
‘एक पटकको सैनिक, सधैँको सैनिक’ भन्ने साङ्गठनिक आदर्शलाई आत्मसात् गर्दै नेपाली सेनाले आज (बुधबार) तनहुँमा ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ आयोजना गर्दैछ । खैरेनीटारस्थित श्री नं. ३ बाहिनी अड्डामा सञ्चालन हुने उक्त समारोहमा सहभागी हुन र अवकाशप्राप्त सैनिकहरूसँग प्रत्यक्ष संवाद गरी उनीहरूका अनुभव एवं सुझाव सुन्न प्रधानसेनापति  अशोकराज सिग्देल आज यहाँ आउन लाग्नुभएको हो ।

सेनाको कल्याणकारी कोषमार्फत सञ्चालित स्वास्थ्य, शिक्षा र स्वरोजगारका सुविधाहरूको प्रभावकारिता बुझ्न र अवकाशप्राप्त सैनिकका परिवारको जीवनस्तरबारे जानकारी लिन यो सम्मेलन एउटा महत्त्वपूर्ण मञ्च बन्ने विश्वास गरिएको छ । सम्मेलनका क्रममा प्रधानसेनापति सिग्देलले तनहुँ र आसपासका जिल्लाबाट सहभागी हुन आउनुभएका भूतपूर्व सैनिक तथा वीर नारीहरूसँग प्रत्यक्ष साक्षात्कार गर्दै उनीहरूका भोगाइ सुन्ने र सङ्गठनका आगामी कल्याणकारी योजनाहरूबारे जानकारी गराउने कार्यक्रम छ ।

विगतका गौरवमय परम्परालाई निरन्तरता दिँदै समारोहमा ज्येष्ठ सैनिक र एकल महिलाहरूलाई सम्मान गर्ने कार्यतालिका रहेको छ । शारीरिक रूपमा अशक्त हुनुभएका पूर्व सैनिकहरूलाई सहायक सामग्री वितरण र लघुवित्त कर्जामार्फत आत्मनिर्भर बन्ने उपायहरूबारे पनि सम्मेलनमा परामर्श दिइनेछ । खैरेनीटार ब्यारेकमा बिहान ९ः३० बजेदेखि सुरु हुने यस भेलाले बहालवाला र अवकाशप्राप्त सैनिकहरूबिचको भावनात्मक सेतुलाई अझ बलियो बनाउने र राष्ट्र सेवामा बिताएको समयको उच्च कदर गर्ने राज्यको नीतिलाई प्रतिबिम्बित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।