• २३ फागुन २०८२, शनिबार

सर्लाही–१ मा रास्वपाकी नीतिमा विजयी

blog

विजेता नीतिमा भण्डारी कार्की ।

जनार्जन खत्री

सर्लाही, फागुन २३ गते । सर्लाही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नीतिमा भण्डारी कार्की निर्वाचित हुनुभएको छ । 

भण्डारी ३६ हजार ३१० मतान्तरले प्रतिनिधि सभा सदस्यमा चुनिनुभएको हो । भण्डारी ४४ हजार १८१ मतसहित विजयी हुनुभएको सर्लाही क्षेत्र नं. १ का निर्वाचन अधिकृत टीकाबहादुर थापाले जानकारी दिनुभयो । 

सर्लाही १ मा एक जना संविधान सभा सदस्य र दुई जना पूर्व प्रतिनिधि सभा सदस्यलाई पराजित गर्दै रास्वपाकी भण्डारीले संसदको यात्रा तय गर्नुभएको छ ।

सर्लाही–१ मा दोस्रो हुनुभएका संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठले सात हजार ८७१, नेकपा एमालेका मनोजकुमार देवकोटाले छ हजार १०१, पूर्व प्रतिनिधि सभा सदस्य नेपाली कम्युनिस्ट पार्टीका प्रमोद साहले पाँच हजार ४९८ र निवर्तमान प्रतिनिधि सभा सदस्य जनता समाजवादी पार्टी नेपालका रामप्रकाश चौधरीले तीन हजार ९९१ मत प्राप्त गर्नुभएको छ । 

सर्लाही १ मा कुल खसेको ७९ हजार २०७ मतमध्ये ७३ हजार ८४२ मत सदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।