ठाकुरप्रसाद आचार्य
म्याग्दी, फागुन २२ गते । म्याग्दीमा स्वतन्त्र उम्मेदवार निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री डा. महावीर पुनले पछिल्लो मतगणनाको परिणाम अनुसार पाँचहजार ४३ मतान्तरका साथ अग्रता कायम राख्नुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार धवलागिरि, मालिकाका सबै वडा र मंगला गाउँपालिकाको चारवटा वडाको मतगणना सकिँदा स्वतन्त्र उम्मेदवार ८ हजार दुई सय ७ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ३ हजार एकसय ६४,नेकपाका अर्जुन थापाले २०८२ र नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी(केबी)ले १९९८ मत प्राप्त गर्नुभएको छ ।
धवलागिरिमा जम्मा मतदाता दश हजार ८ सय ३१ मतदाता रहेकोमा ५ हजार तीनसय ३८ मत खसेको थियो भने मालिका गाउँपालिकामा १३ हजार ३ सय ५५ मतदाता रहेकोमा ६ हजार ६ सय ५७ मत खसेको थियो । मंगला गाउँपालिकामा १३ हजार चारसय ४६ मतदाता मध्य ७ हजार २८ मत खसेको थियो ।
साँझसम्म १७ हजार चारसय ८५ मत गणना भइसकेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो । मंगला गाउँपालिकाको वडा नम्बर ५,बेनी नगरपालिका,रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाको मतगणना गर्न बाँकी छ ।
शनिबार दिउँसोसम्म मतगणना सक्ने गरी धमाधम मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिनुभयो । एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा स्वतन्त्र, नेपाली कांग्रेस,नेकपा एमाले, नेकपा,राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माओवादी) चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), मंगोल नेशनल अर्गनाइजेसन, श्रम संस्कृति पाटी,राष्ट्रिय जनमोर्चाबाट र नेशलनल रिपब्लिक नेपाल चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुईसय १५ मत खसेको छ ।