गोरखापत्र अनलाइन
दोलखा, फागुन २३ गते । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी रहेकै बेला नेकपा (एमाले) दोलखाका उम्मेदवार एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मतदातालाई धन्यवाद दिने अभियान सुरु गर्नुभएको छ ।
शनिबार जिरीमा पुगेर उहाँले मतदातामाझ पुगेर धन्यवादसहित आभार व्यक्त गर्नुभएको हो । जारी मतगणनाको पछिल्लो तथ्याङ्कमा नेता गुरुङभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदिश खरेल अगाडि हुनुहुन्छ । नेता गुरुङले निर्वाचनको परिणामलाई सम्मान गर्ने र सधैं दोलखाली जनताको हितमा समर्पित भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
उहाँले निर्वाचनका क्रममा खटनु हुने पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभेच्छुक सबैप्रति आभार व्यक्त गर्नुभयो । नेता गुरुङले निर्वाचन सम्पन्न गराउने कार्यमा संलग्न सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “जनताले व्यक्त गर्नुभएको मत लोकतन्त्रको सबैभन्दा ठुलो शक्ति हो। त्यसैले परिणाम जे आए पनि त्यो जनमतलाई हामी सम्मान गर्छौं। निर्वाचन सकिएपछि म सधैं जनतासँगै रहने छु।” मतगणना चलिरहेकै बेला उम्मेदवार स्वयं जनतामाझ पुगेर धन्यवाद व्यक्त गर्नु र जनताको मतलाई सम्मान गर्दै सबैसँगै रहने प्रतिबद्धता व्यक्त गर्नु नयाँ र सकारात्मक राजनीतिक अभ्यास भएको स्थानीयहरूले बताएका छन्।
यसैबिच स्थानीय बासिन्दाले निर्वाचनपछि मात्र नभई परिणाम आउनुअघि नै जनतामाझ पुगेर धन्यवाद व्यक्त गर्ने नेता गुरुङको पहलले जनमतप्रतिको सम्मान र जनतासँग निरन्तर सम्बन्ध कायम राख्ने सन्देश दिएको भन्दै प्रशंसा गरेका छन् ।