• २३ फागुन २०८२, शनिबार

पृथ्वी सुब्बालाई हराउँदै लमजुङमा रास्वपाका धर्मराज विजयी

blog

विजयी उम्मेदवार धर्मराज केसीलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्दै मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकाल । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, फागुन २३ गते । लमजुङमा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसी विजयी हुनुभएको छ ।

शनिबार सम्पन्न मतगणनामा नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारको भन्दा दोब्बर मत ल्याउँदै केसी विजयी हुनुभएको हो । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई १७ हजार २२ मतान्तरले पछि पार्दै रास्वपाका केसीले जित निकाल्नुभएको हो । निर्वाचनमा खसेको कुल ७५ हजार ४६० मतमध्ये ३३ हजार ८९८ मत प्राप्त गर्दै केसीले प्रतिनिधि सभाको यात्रा तय गर्नुभएको हो ।

केसीले ३३ हजार ८९८ मत पाउँदा नेकपा (एमाले) का उम्मेदवार गुरुङले १६ हजार ८७६ मत र नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङले १६ हजार ५९६ मत प्राप्त गर्नुभयो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का हरिजङ्ग तामाङले ३ हजार ३७१ मत पाउनुभयो । देशभर रास्वपाको लहर चल्दा लमजुङमा बलियो सङ्गठन रहेका एमाले र कांग्रेसका उम्मेदवारहरूको संसद् यात्रामा ‘ब्रेक’ लाग्नपुगेको छ ।

२०७९ को निर्वाचनमा एमालेका पृथ्वी सुब्बा गुरुङले तत्कालीन नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनका साझा उम्मेदवार तथा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई पराजित गर्नुभएको थियो । पृथ्वी सुब्बा गुरुङले ३४ हजार ९६९ मत ल्याउँदा देवप्रसाद गुरुङ ३१ हजार ७८१ मतमा सीमित हुनुभएको थियो । त्यतिबेला मतान्तर ३ हजार १८८ थियो ।

अघिल्लो परिणामले परम्परागत दुई ठुला दलको प्रभाव बलियो देखाए पनि नयाँ शक्तिप्रति मतदाताको आकर्षण बढ्दा दुई उम्मेदवारको भन्दा दोब्बर मतान्तरले रास्वपाका केसीले बाजी मार्नुभयो । उहाँले २०७९ को निर्वाचनमा ९ हजार २९ मत ल्याउनुभएको थियो ।

मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका केविन्द्रजङ्ग गुरुङले १ हजार, श्रम संस्कृति पार्टीका कोषणलाल गुरुङले ५६५, मङ्गोल नेसनल अर्गनाइजेसनका विकास गुरुङले ३५१, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का रवीन्द्र नखौलाले १४४, स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरेले १३०, जनादेश पार्टी नेपालका मिलन बास्कोटाले ५३, नेसनल रिपब्लिकन पार्टीका भरत गुरुङले ४१ र नेपाल मजदुर किसान पार्टीकी गुह्येश्वरी प्रजापति महुजुले १२ मत पाउनुभएको छ ।