• २३ फागुन २०८२, शनिबार

ताप्लेजुङमा एमालेका थेबे अगाडि

blog

हालसम्म अग्रता कायम गर्नुभएका नेकपा (एमाले) का प्रत्यासी क्षितिज थेबे । तस्बिर: चन्द्र पन्दाक ।

चन्द्र पन्दाक 

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा प्रतिनिधिसभा सदस्यको हालसम्मको मत परिणाम अनुसार नेकपा (एमाले) का क्षितिज थेबे अग्रस्थानमा रहनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङलाई एक हजार ५९३ मतको अन्तरले पछि पार्दै थेबेले अग्रता कायम गर्नुभएको हो ।

हालसम्मको मत परिणाम अनुसार एमालेका क्षितिज थेबेले १० हजार ४५६ मत प्राप्त गर्नुभएको छ । यस्तै दोस्रो स्थानमा रहनुभएका तुम्याहाङको आठ हजार ८६३ मत रहेको छ । तेस्रो स्थानमा रहनुभएका नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्री (पराग) ले चार हजार ६४८ मत प्राप्त गर्नुभएको छ । 

यसैगरी चौथो स्थानमा रहनुभएका श्रम संस्कृति पार्टीका सन्तोष राईले तीन हजार ९३४ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठ दुई हजार १६३ मत पाएर पाँचौ स्थानमा रहनुभएको छ । सङ्घीय लोकतान्त्रिक मञ्चका मुक्साम लाबुङले १९८ मत, उज्यालो नेपाल पार्टीका कीर्तिमान मादेनले १३९ मत प्राप्त गर्नुभएको छ ।

ताप्लेजुङमा विभिन्न १३ राजनीतिक दलका उम्मेदवारमध्ये हालसम्म सबैभन्दा न्युन मङ्गोल नेसलन अर्गनाइजेसनका सन्तबहादुर लिम्बूले २४ मत प्राप्त गर्नुभएको छ । बिहीबार भएको निर्वाचनमा जिल्लाको कुल ९० हजार ३२७ मतदातामध्ये ४६ हजार ४७४ ले मतदान गरेका थिए । यो समाचार तयार पार्दासम्म ३२ हजार ७५२ मत गणना भइसकेको छ ।