• २३ फागुन २०८२, शनिबार

जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी

blog

ज्ञानबहादुर शाही । फाइल तस्बिर

नौरते नेपाली

सिँजा (जुम्ला), फागुन २३ गते । जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही विजयी हुनुभएको छ । २०७९ सालमा निर्वाचित हुनुभएका शाही पुनः दोस्रो पटक पनि निर्वाचित हुनुभएको हो । शाही १४ हजार ८१६ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । 

शाहीका प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गर्नुभएको छ । २०७९ मा २२ हजार ८१९ मत पाउनुभएका शाहीले दोस्रो पटक १४ हजार ८१६ मत प्राप्त गर्नुभएको छ । 

विगतमा प्रतिनिधि सभा सदस्य नदोहोर्‍याउने जुम्लाले यस पटक भने सांसदमा शाहीलाई दोहोर्‍याएको छ । जुम्लामा शाहीले इतिहास रच्नुभएको छ । दुई पटक लगातार प्रतिनिधि सभा सदस्यमा विजय प्राप्त गर्दै शाहीले इतिहास रच्नुभएको हो । २०५६ देखि २०७९ सम्मको निर्वाचनमा एक पटक भन्दा कोहि पनि सांसद दोहोरिएका छैनन् ।

नेपाली कांग्रेसका उम्मेदवार दीपबहादुर शाहीले ७ हजार १४३, नेकपा एमालेका उम्मेदवार शान्तिलाल महतले ४ हजार ५१८, राष्ट्रिय स्वतन्त्र पार्टीले ४२१, नेपाल मजदुर किसान पार्टीले ४००, प्रगतिशिल लोकतान्त्रिक पार्टीले ११३, नेपाल जनता पार्टीले ४३, नेकपा माओवादीले ७० र स्वतन्त्र उम्मेदवार भक्त रावलले १४ प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो । 

जुम्लाका ७१ हजार ७ सय ३९ मतदाता मध्य ४० हजार ८ सय ९७ मत खसेको थियो । जसमा महिला तर्फ २१ हजार १८५ र पुरूष तर्फ १९ हजार ७१२ मत खसेको छ । समानुपातिक ४१ हजार ६३१ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जुम्लामा ५७ प्रतिशत मत खसेको हो । जुम्लामा १ हजार ७०५ मत बदर भएको छ ।