• १६ वैशाख २०८१, आइतबार

नेपाली चलचित्रको ‘सो’ मा सधैँ विवाद

blog

काठमाडौँ, फागुन २८ गते । विदेशी चलचित्रसरह नेपाली चलचित्रलाई ‘सो’ नदिइएको भन्दै लेखक, निर्देशक तथा अभिनेता नवल खड्काले चलचित्र ‘काँडेतार’ हलबाट उतार्ने घोषणा गर्नुभएको छ । निर्देशक खड्काले हलको अन्यायपूर्ण व्यवहारका कारण चलचित्र हलबाट उतार्नु परेको बताउनुभयो । चलचित्र यही फागुन २५ गतेदेखि प्रदर्शनीमा आएको थियो । 

हल मालिकले देशभक्तिपूर्ण चलचित्रलाई पायक ‘सो’ नदिएको आरोप लगाउँदै आइतबारदेखि हलमा चलचित्र नचलाउने खड्काले बताउनुभयो । गत वैशाख ११ गते सेन्सर पास गरेको र एक वर्षअघि नै चलचित्र प्रदर्शन मिति घोषणा गरिएको स्मरण गराउँदै चलचित्र प्रदर्शनको समयमा असफल बनाउन चौतर्फी देशी/विदेशी खुफिया र तिनका मतियार खलबलाएको उहाँले दाबी गर्नुभयो । 

चलचित्र ‘सो’ मा प्राइम टाइम अति महत्वपूर्ण मानिन्छ । यही समयमा दर्शक चलचित्र हेर्न निस्कन्छन् तर यही समयमा नेपाली चलचित्रलाई हल मालिकले समय उपलब्ध नगराउने गरेको चलचित्रकर्मीको गुनासो रहेको छ ।  चलचित्र ‘उपहार’ का निर्देशक ज्ञानेन्द्र देउजाको भनाइ भने केही भिन्न छ । एकै पटक तीन वटा चलचित्र प्रदर्शन हुनु र त्यसमाथि हलिउड र बलिउड चलचित्र पनि थपिनाले यस्तो अवस्था आएको देउजा बताउनुहुन्छ । सिङ्गल थिएटर हल हटेपछि मल्टिप्लेक्समा दर्शकको प्राथमिकतामा नेपालीभन्दा धेरै बलिउड र हलिउड नै हुने गरेको निर्देशक देउजाले बताउनुभयो । हल मालिकले  बलिउड र हलिउडको चलचित्र छानेर दिएपछि मात्र नेपालीको पालो आउने गरेको उहाँले गुनासो गर्नुभयो । 

चलचित्र रङ्गेलीका निर्देशक अर्जुन सुवेदी पनि हल मालिकले दिएको ‘सो’ बाट खासै सन्तुष्ट देखिनु हुन्न । उहाँ भन्नुहुन्छ, “भएभरका ‘सो’ नै बलिउड र हलिउड चलचित्रलाई दिएका छन् । यसमा कसरी सन्तुष्ट हुने हामी नेपाली चलचित्रसँग सम्बन्धित व्यक्तिले ?” हल मालिकले नै नेपालमा चलचित्र वितरण गर्ने गरेकाले यस्तो समस्या आएको उहाँले बताउनुभयो । यसले हामी नयाँ निर्देशकलाई झन् चेपुवामा पार्ने काम गरेको छ । चलचित्र बाँडफाँटको विषयमा निर्माता र हल मालिकबिच यस्तो समस्या सिर्जना हुनु नयाँ कुरा नभएको चलचित्र सङ्घका महासचिव तथा चलचित्र वितरक नरेन्द्र महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “एकै पटक धेरै चलचित्र प्रदर्शनमा आएपछि ‘सो’ यसै नै कम हुन्छ । 

एकै पटक तीन वटा चलचित्र प्रदर्शन हुन्छ र त्यसमाथि गत हप्ताको नेपाली चलचित्र पनि हलबाट उत्रिएको छैन । अनि हामीले ‘सो’ कसरी बाँडफाँट गर्ने,” महर्जनले भन्नुभयो । हप्तामा एउटा मात्र चलचित्र प्रदर्शन हुने हो भने ‘सो’ त प्रशस्तै पाउने महर्जन बताउनुहुन्छ । एउटा नेपाली चलचित्र काँडेतारलाई मात्र ‘सो’ दिएर अन्यलाई नदिने कुरा पनि त हुँदैन भन्ने उहाँको तर्क छ । चलचित्रकर्मी र हल सञ्चालकबिच चलचित्र प्रदर्शनलाई लिएर विवाद चुरिनु कुनै नौलो कुरा होइन । चलचित्र प्रदर्शन भएपछि निर्माताले नेपाली चलचित्रलाई पर्याप्त ‘साे’ नदिने आरोप लगाउँदै आएका छन् भने हल सञ्चालकले व्यवसायसमेत हेर्नुपर्ने जिकिर गर्दै आएका छन् । पछिल्लो समय प्रदर्शनमा आएका तीन चलचित्रले पनि यही विवादको सामना गरिरहेको छ । जसले नेपाली चलचित्र क्षेत्रलाई नै तरङ्गित बनाएको नै छ तर सधैँ आउने यस्तो विवादको किचलो कहिलेसम्म भन्ने कुराको समाधान गर्नेतिर भने कोही अग्रसर भएको देखिँदैन ।