• १२ साउन २०८१, शनिबार

नारायणगढ-बुटवल सडकखण्ड विस्तार तीव्र

blog

कावासोती क्षेत्रको सडक कालोपत्रको तयारी गरिँदै । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, फागुन १० गते । राष्ट्रिय गौरवको रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तार तीव्र पारिएको छ । तोकिएको समयमा काम सम्पन्न गर्न नसकेको आलोचना खेपीरहेको आयोजनाले पछिल्लो समय दिनरात काम भइरहेको जनाएको छ । 

पूर्व पश्चिम राजमार्गको गैँडाकोट देखि दाउन्ने सम्मको ६४ दशमलव ४२ किलोमिटरमा पूर्वी खण्डको अहिलेसम्म ४७ प्रतिशत भौतिक प्रगति भएको छ । विस्तारको काम सुरु भएको ४२ महिनाभित्र काम सक्नेगरी जिम्मा पाएको कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्दा दुईपटक म्याद थपी सडक विस्तारको काम भइरहेको छ । 

नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले हालसम्म सडकको एकतर्फी कालोपत्रको काम २३ किलोमिटर भएको बताउनुभयो । अहिले कावासोती क्षेत्र र प्रगतिनगरको केही भागमा एकतर्फी कालोपत्रको तयारी भइरहेको र ३।४ दिनमा कालोपत्रे हुने इन्जिनियर खनालले जानकारी दिनुभयो । दुईतर्फी कालोपत्रको काम एक सय ३० किलोमिटर गर्नुपर्ने उहाँले बताउनुभयो ।

सडकको ४२ दशमलव सात किलोमिटर खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको करिब पाँच किलोमिटर सडक तीन लेनको हुने सूचना अधिकारी खनालले बताउनुभयो । यस खण्डमा १२ वटा ठुलो पुल (मेजर ब्रिज) मा ३ वटाको काम सम्पन्न भएको छ । त्यस्तै सानो २२ वटा (माइनर ब्रिज)मा २० वटा सम्पन्न भएको उहाँले बताउनुभयो । सडकका विभिन्न स्थानमा निर्माण हुने दुई सय १५ वटा कल्भर्टमध्ये १६० को काम सकिएको छ भने अधिकांशको काम भइरहेको छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सहव्यवस्थापक राकेश झाले दोस्रोपटक थप भएको समयमा सडक विस्तारको काम नसकिने बताउँदै अझै एक वर्ष म्याद थप्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सडक विस्तारको सुरुवाती समयमा विभिन्न कारणले काममा ढिलाइ भएको थियो, अहिले कुनै समस्या छैन ।” कावासोती, प्रगतिनगर लगायत ठाउँमा कालोपत्रे गर्न तयारी गरिएको छ ।” २०८१ साउन सम्म आयोजनाको करिब ७० प्रतिशत काम पूरा गर्नेगरी आफूहरू खटिएको उहाँको भनाइ छ । २०८१ चैत्रसम्म नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम सक्ने बताउनुभयो ।

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले गैँडाकोटको नारायणी नदी पुलदेखि बुटवलसम्म एक सय १५ किलोमिटर सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । नवलपरासी बर्दघाट सुस्तापूर्वक गैँडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किमी सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८ दशमलव ५८ किमीलाई खण्ड‘ख’ कायम गरी विस्तारको काम भइरहेको छ । सडक बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्ने पहाडमा तीन लेन विस्तार गरिने छ । 

एसियाली विकास बैङ्क (एडिबी) को ८५ प्रतिशत ऋण सहयोगमा निर्माण सुरु भएको यस खण्डको कूल लागत रु नौ अर्ब ३८ करोड रहेकामा हालसम्म रु तीन अर्ब ७६ करोड ६६ लाख आर्थिक प्रगति भएको खनालले जानकारी दिनुभयो ।