• ६ जेठ २०८१, आइतबार

असिना पीडित किसानलाई राहत प्रदान

blog

शुक्लागण्डकी नगरपालिकाद्वारा गरिएको राहत हस्तान्तरण कार्यक्रम ।

अमरराज नहर्की

तनहुँ, माघ २ गते । तनहुँको शुक्लागण्डकी नगरपालिकाद्वारा असिनाबाट पीडित एक सय २७ जना कृषकलाई राहत प्रदान गरिएको छ । शुक्लागण्डकी नगरपालिका–११ राईपुरका कृषकलाई राहत प्रदान गरिएको हो । 

गत कात्तिक १८ गते भित्राउन ठिक्क पारिएको धान सुकाएर राखेको अवस्थामा असिनाले ठुलो क्षति पुर्‍याएको हो । भित्राउने बेलाको धान असिनाले नष्ट गरेपछि एक सय २७ घरधुरीका कृषक भोकभोकै पर्ने अवस्था आएकोले क्षतिको २० प्रतिशत राहतस्वरुप प्रदान गरिएको नगर प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । राहत रकमको प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले हस्तान्तरण गर्नुभएको हो  । राहत हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद भण्डारीले यस्ता राहतले कृषकलाई पेशाबाट पलायन हुनबाट रोक्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

साथै उहाँले नगरपालिकामार्फत उपलब्ध गराइएको राहतले पीडित कृषकहरुलाई थोरै भए पनि राहत मिलेको बताउनुभयो । सङ्घ सरकारको तर्फबाट  पीडित कृषकहरुलाई राहत उपलब्ध गराउने विषयमा विशेष ध्यान दिने सांसद भण्डारीको भनाइ छ । 

यस्तै, राहतस्वरुप छ लाख ८० हजार रुपियाँ राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।