कृष्णबहादुर धामी
दार्चुला, असार १४ गते । हिमाली जिल्ला दार्चुलाको धान रोपाइँ हुने भु–भागका किसानलाई यतिबेला रोपाइँ गर्ने चटारो चलिरहेको छ।
यहाँका किसानले जेठको अन्तिम साता देखि रोपाइँ गर्न सुरु गरेको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख सिद्धराज उपाध्यायले जानकारी दिनुभयो ।
जिल्लाको चौलानी भेगतिरबाट किसानहरूले यसवर्षको रोपाइँ सुरु गरेको उहाँले बताउनुभयो । जिल्लाको कुल खेतीयोग्य क्षेत्रफल २९ हजार ५४४ हेक्टर क्षेत्रफल जमिन मध्ये ४ हजार ४२२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको उहाँले जानकारी दिनुभयो ।
धान रोपाइँ हुने क्षेत्रफल मध्ये असारको ८ गते सम्म ७०० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भई १५ दशमलव ८३ प्रतिशत रोपाइँ भएको उहाँले बताउनुभयो । जिल्लाको उच्च हिमाली भेग बाहेकका सबै ठाउँहरूका किसानहरूले धान रोपाइँ गर्ने गरेका छन् ।
दार्चुलामा सुख्खा–३ र लोकल जातको धान उत्पादन हुने कार्यालय प्रमुख उपाध्यायले बताउनुभयो । यहाँको रैथाने धानबालीलाई लोकल जात भनेर भन्ने गरिएको उहाँले बताउनुभयो ।
जिल्लाको ३२ दशमलव १२ प्रतिशत अर्थात ९ हजार ४९२ हेक्टर क्षेत्रफल जमिन सिँचाइको पहुँचमा रहेको बताइएको छ । खेतीयोग्य जमिन २९ हजार ५४४ हेक्टर क्षेत्रफल मध्ये २२ हजार ८२५ हेक्टर क्षेत्रफल खेती गरिएको जमिनमा सिँचाइको सुविधा पुगेको छ ।
दार्चुलामा वार्षिक १२ हजार ५५८ मेट्रिक टन अर्थात २ दशमलव ८४ प्रतिशत धान उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यसवर्षको धान दिवस असार १५ गते महाकाली नगरपालिका–५, किम्तडीमा मनाइने कार्यालय प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।