• १४ असार २०८२, शनिबार

गुल्मीमा चार जिपिए ल्याउने सबै सामुदायिक विद्यालयका विद्यार्थी

blog

टोपलाल अर्याल
रेसुङ्गा, असार १४ गते ।
गुल्मीमा अहिलेसम्म चार जिपिए ल्याउने सबै सामुदायिक विद्यालयका विद्यार्थी देखिएका छन् । विसं. २०७५, ०७८, ०८० र ०८१ सालमा एसइई परीक्षामा चार जिपिए ल्याउने विद्यार्थी सामुदायिक विद्यालयका रहेका हुन् ।

शैक्षिक सत्र २०८१ को एसइई परीक्षामा चन्द्रकोटको उदय मावि शान्तिपुरका निशान भण्डारी, सत्यवति गाउँपालिकाका सत्यवती माविका अर्जुन र सिर्जित भण्डारीले चार जिपिए प्राप्त गर्नुभएको छ । यस अघि रेसुङ्गा माविबाट २०७५ सालमा सागर पुरी र ०७८ सालमा आशिष बस्नेत तथा २०८० सालमा श्रृङ्गा जनता माविका स्मृति कंडेलले चार जिपिए प्राप्त गर्नुभएको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ प्रकाशन गरेको एसइई परीक्षाको नजितामा अनुसार देशभरमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा गुल्मीमा भने त्यसको झण्डै ५.४५ प्रतिशत अर्थात् ६७.२६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् । गत वर्ष गुल्मीबाट साधारणतर्फ तीन हजार ५११ र प्राविधिकतर्फ ३३२ गरी कुल दुई हजार ५८५ विद्यार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख थानेश्वर घिमिरेले जानकारी दिनुभयो ।

एसइईमा सहभागीमध्ये ३.६ देखि चार जिपिए ल्याउने २८० जना, ३.२ देखि ३.६ जिपिए ल्याउने ७१६ जना, २ देखि ३.२ जिपिए ल्याउने एक हजार ३९ जना, २.४ देखि २.८ जिपिए ल्याउने ५२७ जना तथा २ देखि २.४ जिपिए ल्याउने २० जना रहेको शिक्षा समन्वय एकाइले जनाएको छ ।

हिजो सार्वजनिक एसइईको नतिजा अनुसार गाउँमै शिक्षाको संभावना देखिएको छ । सत्यवति माविबाट छात्रा ३७ र छात्र ३५ गरेर ७२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । विसं. २०३९ सालमा स्थापना भएको सत्यवति माविमा ५२० विद्यार्थी छन् । विद्यालयका प्रध्यानाध्यापक कृष्ण प्रसाद भण्डारीका अनुसार ११ जनाले ३.६ देखि माथि, १२ जनाले ३.२ जिपिएभन्दा माथि ल्याएका छन् ।

सत्यवती माविबाट चार जिपिए प्राप्त गर्ने सिर्जित भण्डारीले अपेक्षा अनुसारकै नतिजा प्राप्त भएकोमा खुसी व्यक्त गर्दै कम्प्युटर इन्जिीनियर बन्ने सपना भएको बताउनुभयो । अर्को चार जिपिए पाउने अर्जुन भण्डारीले अवसर पाए डाक्टर बन्ने चाहाना भएको बताउनुभयो । उदय मावि निशान भण्डारीले पनि चार जिपिए प्राप्त गर्नुभएको छ । कक्षा ८ सम्म संस्थागत विद्यालयपछि ९ र १० मा सामुदायिक विद्यालय उदय माविमा अध्ययनर भण्डारीले अपेक्षा अनुसारकै नतिजा आएकोमा खुसी व्यक्त गर्नुभयो ।

उहाँले आइटी तर्फ राम्रो गरेर देखाउने चाहाना रहेको निशानले बताउनुभयो । जिल्ला समन्वय समिति प्रमुख द्रोर्ण खत्रीले गाउँका विद्यालयमा पनि शिक्षाको राम्रो संभावना देखिएको बताउनुभयो । नतिजा राम्रो बनाउन विद्यालयनै कस्सिनुपर्ने प्रध्यानाध्यापकहरूले महसुस गरेकाले नतिजा राम्रो आउन थालेको खत्रीले बताउनुभयो । चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले सामुदायिक विद्यालयको सकरात्मक प्रतिस्पर्धाले खुसी दिलाएको बताउँदै उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई सम्मान गर्ने बताउनुभयो ।