मोहनसिंह बुढा
अदानचुली, (हुम्ला) असार १४ गते । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा हुम्लाबाट करिब आधा विद्यार्थी उत्तीर्ण भएका छन् ।
जिल्लाबाट यस वर्षको एसइईमा कुल नौ सय ३६ विद्यार्थी सहभागी थिए । जसमा चार सय ८३ जना मात्रै उत्तीर्ण भएका छन् भने चार सय ६७ जना अनुत्तीर्ण भएको जिल्ला शिक्षा समन्वय ईकाइ निमित्त प्रमुख योगेश आले मगरले जानकारी दिनुभयो ।
मगरका अनुसार साधारण धारतर्फ चार सय ३३ विद्यार्थी उत्तीर्ण हुँदा चार सय २८ विद्यार्थी अनुत्तीर्ण भएका छन् । यता प्राविधिक धारतर्फ ५० जना उत्तीर्ण हुँदा ३९ अनुत्तीर्ण भएका छन् ।
एसइईमा कुल एक हजार एक सय ४ विद्यार्थीले परीक्षा फाराम भरेका थिए । जसमा नियमिततर्फ नौ सय ५० र ग्रेडवृद्धितर्फ एक सय ५४ जना रहेका छन् । जसको नियमितमा १४ जना अनुपस्थित भई आठ सय ४७ परिक्षार्थीले परीक्षा दिएका थिए । २०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।