सन्तोष सुवेदी
पाख्रीबास, असार १४ गते । धनकुटामा अवस्थित कोशी प्रदेशको एकमात्र निजामती आवासीय विद्यालयलाई प्रदेशकै उत्कृष्ट बनाउनुपर्ने सरकोकारवालाहरूले बताएका छन् । शिक्षा विकास निर्देशनालय कोशी प्रदेश धनकुटाको संयोजनमा र त्रिभुवन विश्वविद्यालय शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सिइआरआइडी) काठमाडौँले विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि मार्गचित्र (डिपिआर)सहितको प्रतिवेद तयारी गर्ने सम्बन्धमा प्रारम्भिक प्रतिवेदन तथा छलफल कार्यक्रममा सरोकारवालाहरूले यस्तो बताएका हुन् ।
छलफलका क्रममा कोशी प्रदेशमा एकमात्रै निजामती आवासीय विद्यालय रहेकाले प्रदेशकै एक उत्कृष्ट एवम् नमूना विद्यालय बनाउनुपर्नेमा जोड दिइएका थिए । विद्यालयको भौतिक संरचना सुधार, छात्र तथा छात्रावास सुविधा विस्तार, प्रविधिमा आधारित शिक्षण, दक्ष जनशक्ति अभिवृद्धि, बालमैत्री वातावरण निर्माण र समुदाय सहभागिता वृद्धि गर्नुपर्ने विषयहरूमा विशेष जोड दिनुपर्ने बताइएको थियो । यस्तै विद्यालयलाई भौतिक तथा शैक्षिक विकास गरी नेपालभरिबाट विद्यार्थी पढ्न आउने वातावरण बनाउनुपर्ने समेत स्थानिय जनप्रतिनिधि तथा सरोकारवालाहरूले बताएका थिए ।
यस्तै, पछिल्लोे सयम विद्यार्थीहरु पढ्न मात्रै नभई अतिरिक्त क्रियाकलापतर्फ आकर्षण हुने भएकाले सोही अनुसार विद्यालयको वातावरण पनि मिलाउनु पर्ने बताइएको थियो । विद्यालयबाट छाडेका विद्यार्थीहरु अहिले कुन अवस्थामा छन् कस्तो प्रगति गर्दैछन् त्यो पनि सर्वेक्षण गर्न आवश्यक रहेको सहभागीहरूको भनाइ रहेको थियो । निजामतीमा पढाउने शिक्षकका छोराछोरीहरूलाई बोर्डिङ स्कुल नभई सोही विद्यालयमा अध्ययन गराउनुपर्नेमा अभिभावकहरूको माग समेत रहेको थियो ।
यस्तै कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएको जिल्ला समन्वय समितिका प्रमुख निरन तामाङले प्रदेश सरकारले उत्कृष्ट नमुना विद्यालय घोषण गर्न खोजेको बताउनुभयो । प्रदेश सरकारले जुन उद्देश्यले विद्यालय स्थापना गर्याे सोही अनुसार अगाडि बढाउनुपर्ने बताउँदै त्यसका लागि जनप्रतिनिधि समेत लागि पर्ने समन्वय प्रमुखको भनाइ रहेको थियो । प्रदेशकै नमुना विद्यालय बनाउन वातावरण र आवश्यक हावापानी लगायतका सम्पूर्ण विषयवस्तु भरिपूर्ण रहेकाले सबै जिल्लाबाट विद्यार्थी पढ्न आउने वातावरण मिलाएर अगाडी बढ्ने समेत समन्वय प्रमुख तामाङको भनाइ रहेको थियो ।
त्यस्तै, कार्यक्रममा विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, मानव संसाधन, विद्यार्थीको सिकाइ उपलब्धी, समावेशीता, पहुँच र व्यवस्थापन लगायतका पक्षमा विस्तृत अध्ययन गरी तयार पारिएको प्रारम्भिक प्रतिवेदन त्रिभुवन विश्वविद्यालयका प्रा.डा. विनोद लुइटेल र प्रा.डा. कमलकुमार पौडेल प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो प्रतिवेदनले विद्यालयको वर्तमान अवस्था मूल्याङ्कन गर्दै आवश्यक सुधारका क्षेत्र पहिचान गर्ने बताइएको थियो । साथै विद्यालयमा दीर्घकालीन मास्टर प्लान, अनुमानित लागत, कार्यान्वयन रणनीति, प्राथमिकताका आधारमा परियोजनाहरूको अनुक्रम र आवश्यक सहयोग संयन्त्रहरू उल्लेख समेत गरिएको थियो ।
कार्यक्रममा स्थानीय सरकारका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी, शिक्षाविद् तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले प्रतिवेदनमा समावेश प्रस्तावहरूबारे महत्त्वपूर्ण सुझाव र धारणा व्यक्त गरेका थिए । यस्तै अन्त्यमा प्रस्तुत सुझाव र प्रतिक्रिया समेटेर प्रतिवेदनलाई अझ परिष्कृत बनाई अन्तिम प्रतिवेदन तयार पारिने र त्यसको आधारमा कार्यान्वयनका चरणमा अघि बढ्ने धनकुटाका प्रमुख जिल्ला अधिकारी टुबराज पोख्रेलले बताउनुभयो ।