• ११ साउन २०८२, आइतबार

अनुदान कटौती हुँदा नयाँ एचआईभी सङ्क्रमित बढ्ने जोखिम

blog

'नेपालमा एचआईभी कार्यक्रमको वर्तमान अवस्था’ विषयक कार्यक्रममा सहभागी ।

काठमाडौँ, असार १३ गते। नेपालमा सन् २०३० भित्र एचआईभी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न चुनौती थपिँदै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। 

जनस्वास्थ्यको चुनौतीका रुपमा रहेको एड्स इपिडेमिकलाई सन् २०३० सम्ममा अन्त्य गर्ने सरकारको लक्ष्य छ।  दातृ निकायले एचआईभी नियन्त्रणमा दिँदै आएको सहयोग कटौती गरेसँगै एचआईभी नियन्त्रण गर्ने लक्ष्य पूरा गर्ने चुनौती थपिएको हो। 

‘हाम्रो समान पहुँच संस्था’की  अधिकारकर्मी ज्योति थापाले एचआईभी सङ्क्रमित नियन्त्रणका लागि आवश्यक साधान कन्डम र प्री एक्सपोजर (एचआईबाट बच्ने औषधी) को अभावले नयाँ सङ्क्रमितकको जोखिम बढ्दै गएको बताउनुभयो। 

स्वास्थ्य पैरवी समाज काठमाडौंमा आयोजित ‘नेपालमा एचआईभी कार्यक्रमको वर्तमान अवस्था’ विषयक कार्यक्रममामा उहाँले दातृ निकायले दिँदै आएको सहयोग कटौती हुँदा जोखिम समूह मारमा परेको उहाँले जीकिर गर्नुभयो।  

सङक्रमित व्यक्तिले प्रेभ खान नपाएपछि स्वस्थ पार्टनर सङ्क्रमित हुने जोखिम बढ्दै गएको  उहाँको भनाइ छ।  उहाँ भन्नुहुन्छ, “कन्डम पनि छैन, प्रेभ पनि खान पाइएको छैन यो अवस्थामा भविष्यमा एचआईभीको सङ्क्रमण बढ्ने जोखिम बढ्दै गएको छ। यसले सरकारको लक्ष्य पूरा गर्न चुनौती थपिने देखिएको छ।”

उहाँले कन्डमजस्ता निःशुल्क सामग्रीले सङ्क्रमण दर घटाउन भूमिका खेलेको तर बजेट कटौतीपछि यस्तो सेवा रोकिँदा पुनः जोखिम बढेको बताउनुभयो। नीति बनाउनेले यस्तो सूक्ष्म क्षेत्रमा ध्यान नदिँदा नयाँ सङ्क्रमित थपिने जोखिम बढेको उहाँको भनाइ छ।

राष्ट्रिय एचआईभी तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्बेश शर्माले दातृ निकायले सहयोग कटौती गरेपनि हालसम्म केन्द्रका कुनै पनि कार्यक्रम नरोकिएको स्पष्ट पार्नुभयो।  

उहाँ भन्नुहुन्छ, “दातृ निकायको सहयोग कटौती भए पनि सरकारले सञ्चालन गरेका कुनै पनि कार्यक्रम रोकिएका छैनन्। कुन क्षेत्रमा कस्तो असर परेको छ भनेर अध्ययन पनि भएको छैन। यसको प्रभाव देखिए पनि दुई तीन वर्षपछि मात्र देखिन्छ होला।” उहाँले विदेशी सहयोगमै भर पर्नु दीर्घकालीन समाधान नभएको बताउँदै सरकारले सेवा सञ्चालन गर्न सक्ने संरचना बनाउनु आवश्यक रहेको जीकिर गर्नुभयो। 

एक वर्षमा झन्डै छ सयको मृत्यु 

केन्द्रका निर्देशक डा. सर्बेश शर्माले नेपालमा एक वर्षमा ६१४ जना नयाँ एचआईभी सङ्क्रमित थपिनुका साथै  ५६९ जनाको मृत्यु हुने अनुमान गरेको जानकारी दिनुभयो। 

उहाँका अनुसार नेपालमा ३४ हजार ३३७ जना एचआईभी सङ्क्रमित भएको अनुमान गरिएको हो। सङ्क्रमित मध्ये ५८ प्रतिशत अर्थात् १९ हजार ८२१ पुरुष र ४२ प्रतिशत अर्थात १४ हजार ५१६ महिला छन्। त्यसैगरी, एक हजार ५८ अर्थात ३।१ प्रतिशत सङ्क्रमित बालबालिकाको सङ्ख्या छ। मातृ–शिशु सरेर सङ्क्रमण भएकाको सङ्ख्या २२७ छ।

जनस्वास्थ्य प्रशासक अश्मिता ओझाका अनुसार कारागारमा रहेका व्यक्ति, सुइ प्रयोग गर्ने लागुऔषध प्रयोगकर्ता, यौन व्यवसायमा संलग्न, ट्रान्सजेन्डर र यौनसम्पर्क गर्ने पुरुष एचआईभीको उच्च जोखिममा छन्। 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।