जीवछ यादव
लहान, असार १४ गते । सिरहाको अर्नमा गाउँपालिका–१, बुढियाचापमा शनिबार दलित समुदायको एक युवकको शव फेला परेको छ । स्थानीय ३४ वर्षीय अजय महराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी गराउनुभयो । उहाँको अनुसार प्रादेशिक अस्पताल सिरहामा पोस्टमार्टम भइरहेकोछ ।
स्थानीय मुनिफ झली मन्सुरीले खेतमा बाली कुर्न बनाएको बाँसको झुपडीनजिकको आँपको रुखमुनि खुट्टामा प्लास्टिक बाँधिएको अवस्थामा उहाँको शव फेला परेको प्रहरीको भनाइ छ ।
राति अबेरसम्म आफ्नै घरमा रहेको उहाँ बिहान मृत्य भेटिएको स्थानीयहरूको भनाइ छ । शव भेटिएको ठाउँमा मदिराको बोटल र गिलास भेटिएको छ । पोस्टमार्टमपछि मात्र मृत्युको कारण खुल्ने प्रहरीले बताएकोछ ।
घट्नाको प्रकृति हेर्दा मृत्यु शङ्कास्पद रहेको बताउँदै स्थानीयहरूले घट्नाको छानबिनको माग गरेका छन् । गाउँमै निर्माण मजदुरको काम गरेर एक श्रीमती र दुई साना छोराहरूको गुजरा गराउँदै आएका अजयको मृत्युले बुढियाचाप गाउँ शोकाकुल बनेको छ ।