सन्तोष राउत
सोलुखुम्बु, असार १४ गते । हिमाली जिल्ला सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र फ्रान्सस्थित सोलु–च्याम संस्थाबिच नुम्बुर बहुप्राविधिक शिक्षालय सञ्चालन गर्न पाँच वर्षका लागि ११ करोड २३ लाख ७५ हजार रुपियाँको सहयोग सम्झौता भएको छ । नगरपालिकाकोतर्फबाट नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पा र सोलु–च्यामकोतर्फबाट नेपाल प्रतिनिधि निमा शेर्पाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता पश्चात नगर प्रमुख शेर्पाले नुम्बुर बहुप्राविधिक शिक्षालयको दिगो सञ्चालनको भरपर्दो आधार तयार भएको भन्दै यसले सोलुदुधकुण्ड नगरपालिका मात्रै नभइ सिङ्गो सोलुखुम्बुमानै प्राविधिक शिक्षामा नयाँ सम्भावनाको ढोका खोलेको बताउनुभयो । प्राविधिक जनशक्ति उत्पादनको शिक्षा क्षेत्रमा ऐतिहासिक उपलब्धी हुने उहाँको विश्वास छ ।
सोलुदुधकुण्ड नगरपालिका-७ मा यस अघिनै करिब साँढे तीन करोड ४० लाख रुपियाँको लागतमा आधुनिक प्राविधिक शिक्षालय निर्माण भई पठनपाठन सुरु भएको छ । फ्रान्सेली दातृ निकाय र सोलुदुधकुण्ड नगरपालिकाको लागत साझेदारीमा नुम्बुर प्राविधिक शिक्षालय सञ्चालन भएको हो ।
नगरपालिकाका युवाहरुलाई स्वरोजगार मुलक सीप सिकाई विदेश पलायनबाट रोक्ने उद्देश्यले निर्माण गरिएका आधुनिक र सुविधा सम्पन्न प्राविधिक शिक्षालयमा निःशुल्क रूपमा पढाउन थालिएको नगर प्रमुख शेर्पाले बताउनुभयो ।
पहिलो प्राथमिकतामा नगरपालिका र बाँकी जिल्लाभरिका विद्यार्थी भर्ना गरिएको छ । प्लम्बिङ, कुक र हाउस वायरिङसम्बन्धी तिन विधामा तत्काल १०/१० जनाका दरले ३० जना विद्यार्थीलाई पढाउन सुरु गरिएको प्राविधिक शिक्षालयका अध्यक्ष निमा शेर्पाले जानकारी दिनुभयो ।
सिटिइभिटीबाट सम्बन्धन लिइएको तीनवटै कोर्ष दुई वर्षे हुन् । एसइईको परीक्षा दिएका विद्यार्थीहरू आवासीय रूपमा उक्त कक्षामा सामेल भएका छन् । काठमाडौँ र विराटनगरबाट दक्ष प्रशिक्षक ल्याइएको उक्त प्राविधिक शिक्षालयमा सबै विद्यार्थीका लागि खाना बस्नको व्यवस्था मिलाइएको र अबको ६ महिनापछि थप विधामा ३० जना विद्यार्थी भर्ना लिने अध्यक्ष शेर्पाले बताउनुभयो ।
व्यवसायिक शिक्षा लिनकै लागि लाखौँ खर्च गरेर काठमाडौँ धाउनुपर्ने बाध्यता प्राविधिक शिक्षालय खुलेसँगै कम भएको छ । आफ्ना छोराछोरीलाई गाउँघरमै व्यवसायिक शिक्षा दिन पाउँदा अभिभावक खुसी भएका छन् ।