काठमाडौँ, असार १३ गते । उपभोक्ता अदालतले उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनामा हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई करिब डेढ करोड रुपियाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ।
उपभोक्ता अदालतले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई एक करोड ४५ लाख रुपियाँ क्षतिपूर्ति तिराउने फैसला गरेको हो ।
बिहीबार रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले अस्पताललाई ७० प्रतिशत र उपचारमा संलग्न चिकित्सक जयदेव यादवलाई ३० प्रतिशत क्षतिपूर्ति तिराउने फैसला गरेको छ ।
अधिवक्ता हित संरक्षण मञ्चका कानुन व्यवसायी अधिवक्ता सुविन पाण्डेले अस्पतालले एक करोड एक लाख ८० हजार र चिकित्सकले ४३ लाख ६३ हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको जानकारी दिनुभयो ।
वि सं २०७९ माघ २३ गते गङ्गा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंसा गौतमलाई उपचारका लागि अस्पताल लैजानुभएको थियो ।
छोरी गौतमको मृत्यु उपचारमा लापरबाहीको कारण भएको भन्दै अभिभावकले लामो समय अस्पतालमै आन्दोलन गरेका थिए।
प्रशंसा गौतमका आमाबुबाले नेपाल मेडिकल काउन्सिलमा उजुरी गर्नुभएको थियो । काउन्सिलले उपचारमा संलग्न चिकित्सकको लापरबाही ठहर्याउँदै चेतावनी दिने निर्णय गरेको थियो।
काउन्सिलले चेतावनी मात्रै दिने निर्णय गरेपछि क्षतिपूर्तिको मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर गरिएको थियो।
उपभोक्ता अदालत गठन भएपछि गत चैतमा उक्त मुद्दा उपभोक्ता अदालतमा सरेको थियो। अदालतले काउन्सिलको निर्णयसमेत राखेर उक्त फैसला गरेको हो।
यस अघि ‘चिकित्सकीय लापरबाही गरी मर्न बाध्य हुनुपरेको’ मुद्दामा ओम हस्पिटललाई ५० लाख ७० हजार तिराउने फैसला गरेको थियो ।
उपभोक्ता संरक्षण ऐनले कुनै पनि वस्तु र सेवा लिँदा उपभोक्तालाई हानि पुगेमा क्षतिपूर्ति पाउने व्यवस्था छ ।
उपभोक्ता अदालतले चिकित्सकले विश्व स्वास्थ्य सङ्गठन वा स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड अनुसार उपचार नगरेको हेर्ने गरेको पाण्डे बताउनुहुन्छ ।
अन्य देशमा यस्ता फैलालाई धेरै हुने भए पनि नेपालमा यस्तो खालका फैसला हुन भर्खर भर्खर सुरु भएको पाण्डेले जानकारी दिनुभयो ।
अधिवक्ता सुविन पाण्डेले उपभोक्ता अदालतले हालसम्म यस्तै प्रकृतिका दुष्कृतिसम्बन्धी तीनवटा फैसला भएको बताउनुभयो ।