जीवछ यादव
लहान, असार १३ गते । लहानको सहरी क्षेत्र सरसफाइ चुनौती बनिरहेका बेला लहान–८ हुलाक टोलवासीले थालेको अभियान नमुना र प्रेरक बनेको छ । लहानको विचबाट बगेको नहरको फोहोररबाट फैलिएको दुर्गन्धले आजित भएका लहान –८ का हुलाक टोलका स्थानीयहरु टोल विकास समिति गठन गरेर सरसफाइ थालेका छन् ।
केही दिनमै थालेको अभियानले सरसफाइका लागि भइरहेको सामूहिक प्रयासबाट टोल बस्तीलाई सफा गरेर सुन्दर बनाउन सक्ने टोल विकास समितिका अध्यक्ष देवेन्द्र कामैतले बताउनुभयो ।
उहाँका अनुसार थालिएको सरसफाइलाई प्रभावकारी बनाउन लहान नगरपालिका –८ का वडाध्यक्ष श्याम सोनीले लहान नगरपालिका नगरप्रमुख महेशप्रसाद चौधरीले सहभागिता जनाएर हौसला दिने गर्नुभएको छ । हुलाक टोलवासीले थालेको सरसफाइ अभियान लहानका लागि नमुना र प्रेरक बनाउने गरी लागेको बताउने गर्नुभएको छ ।
फोहोरलाई वर्गीकरण गरेर गल्ने र नगल्नेलाई छुट्टाछुट्टै राखेर सडक र नहर क्षेत्रमा जथाभावी फोहोर नफाल्ने माइकिङ पर्चा पम्पलेट टाँसेर व्यवस्थित गरिरहेको अध्यक्ष कामैतले प्रष्टयाउनुभयो । हुलाक क्षेत्रमा फोहोर देखेर नाक थुनेर बाटो काट्ने ठाउँमा सरसफाइ भएपछि त्यस बाटोबाट जानेहरु यस्तो सरसफाइ हुनुपर्ने भन्न थालेका छन् ।
लहान –८ हुलाक कार्यालयको टोलमा नयाँ बस्ती रहेको त्यस टोलमा घर बनाएकाहरु अधिकांश शिक्षक कर्मचारी र व्यापारीहरु बसोवास गर्ने सचेत स्थानीयहरु सरसफाइका निम्ति जुर्मुराएका छन् ।
वडाहरु ४ देखि १० नम्बरमा सरसफाइ अभियान तीव्ररुपमा चलेको स्थानीयको भनाइ छ । सरसफाइ अभियान सोचेभन्दा तीव्र गतिमा चलिरहेको लहान नगरप्रमुख चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘लहान –८ हुलाक टोलवासीको सरसफाइ अभियान प्रेरक बनेको छ । यसको सकारात्मक प्रभाव अन्य वडाहरुमा पर्नेछ ।’
यता लहान नगरपालिकाले १६ औं नगरसभाले फोहोरमैला सङ्कलन कार्यलाई निरन्तरता दिन मूल सडकको दुबै किनारमा हरेक एकसय मिटरमा डस्टबिनको व्यवस्था गरिने नगरपालिकाका पदाधिकारीहरुको भनाइ छ ।